काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकता कायम गर्न २०७५ जेठ २ लाई ‘लेजिटिमेट बोर्डर लाइन’ र त्यसपछि भएका पार्टी गतिविधिको गम्भीर समीक्षा गरेर अगाडि बढ्नु अपरिहार्य रहेको बताएका छन् ।
उनले पार्टी एकताबाट मात्र बाँकी उपलब्धि हासिल गर्न सकिने हुनाले सबै नेता त्यसमा संवेदनशील हुनुपर्ने बताए । पार्टी एकता अपरिहार्य रहेको र नेताहरूबीच नियमित छलफल, वार्ता भइरहेकाले छिट्टै केही न केही निष्कर्षमा पुगिने पोखरेलले बताए ।
एकता कायम गर्न सबै लाग्नुको विकल्प नरहेको उनले बताए । पार्टी एकताका लागि भावनात्मक कुरा गरेर मात्र पुग्दैन, ठोस कदम चाल्नुपर्ने कुरामा जोड दिँदै महासचिव पोखरेलले ‘विचारमा स्पष्टता र व्यवहारमा लचकता’ अनिवार्य रहेको धारणा राखे ।
आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनसँग मिलेर पार्टीभित्रका केही नेताले अक्षम्य अपराध गरिरहेको उनले टिप्पणी गरे । व्यक्तिगत कुण्ठा र ईष्र्याकै कारण पार्टीभित्र टकराव बढेको धारणा उनले व्यक्त गरे ।
पार्टीभित्रको विवाद र विकृतिलाई समाधान नगर्ने हो भने दूरगामी असर पुग्ने चर्चा गर्दै महासचिव पोखरेलले भने, ‘एमालेभित्र अहिले दुर्भाग्यपूर्ण बिग्रहको अवस्था छ, यसले पार्टीलाई धेरै क्षति नहोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ । पार्टी एक रह्यो भने मात्र बाँकी उपलब्धि प्राप्त हुन्छ ।’
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै काम र कर्तव्य भए पनि एउटाको काममा अर्को निकायबाट हस्तक्षेप हुन थालेपछि देश सङ्कटतर्फ उन्मुख भएको उनले टिप्पणी गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS