काठमाडौं महानगरपालिकाले भोकाहरुका लागि खाना खुवाउन चाहनेहरुलाई पार्टी प्यालेसको भाडा तिरिदिने भएको छ। महानगरपालिकाले सार्वजनिक स्थल, मठमन्दिर, सडकहरुमा जारी दैनिक खाना खुवाउने अभियानमा रोक लगाएर भोकाहरुको गाँस खोसेको भन्दै चौतर्फी आलोचना भएपछि पार्टी प्यालेसको भाडा तिरिदिने निर्णय गरेको हो।
बुधबार पत्रकार सम्मेलन गर्दै मेयर विद्यासुन्दर शाक्यले खाना खुवाउने अभियन्ताहरुसँग छलफल चलिरहेको र महानगरले कसलै सुरक्षित हिसाबले खाना खुवाउन चाहे पार्टी प्यालेसको भाडा तिरिदिने बताए।
‘हामी सबैको उद्देश्य कोही भोकै पर्नु नपरोस् भन्ने हो। सबैले देख्नेगरी खुवाउनुपर्दैन,’ उनले भने, ‘कसैले खाना खुवाउन चाहन्छ तर पार्टी प्यालेसमा राखेर खुवाउने भाडा तिर्न पैसा छैन भने हामी तिरिदिन्छौं।’
खुलामञ्चमा खाना खुवाउनु स्वास्थ्यका हिसाबले समेत सुरक्षित नभएकाले कसलै त्यहीँ खुवाउछु भनेर पाखुरा सुर्कनु नपर्ने उनले बताए।