काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधन भएको छ ।
९७ वर्षीय ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
उनको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रसभापति गगन कुमार थापाले दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गरेका छन् ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाललगायले पनि ओलीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
यद्यपि, प्रधानमन्त्री सुशीला कार्की र प्रस्तावित भावी प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले भने केही बोलेका छैनन् ।

स्वर्गीय ओलीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सो क्रममा विभिन्न दलका नेताहरू उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

FACEBOOK COMMENTS