काठमाडौं, असोज ६ – लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ । ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् । उनीहरु मध्ये एक हुन्, बाराको कलैयाबाट आएका एना मुल्ह ।
उनी सोमबार राति एक बजे अस्पताल बाहिर पुगेर लाइनमा बसे । सोमबार १२ बजेसम्म पनि पीसीआर परीक्षणका लागि टिकटसम्म काट्न पाएका थिएनन् । ‘हिजो तीन बजेतिर काठमाडौं आएको थिएँ । तर, ढिलो भएर परीक्षण गर्न पाइनँ’, उनले भने, ‘आज बिहान एक बजे आउँदा पनि मानिसहरु लस्करै लाइन लागेर सुतिरहेका थिए ।’
घरबेटीले बिना परीक्षण डेरामा बस्न बर्जित गरेपछि उनी परीक्षणको लागि टेकु आइपुगेका हुन् । लकडाउनअघि उनले काठमाडौंमा बिजुलीको काम गर्थे । उनले भने, ‘घरबाट आएर हामी तीनजना सुन्धाराको गेस्ट हाउसमा बसेका छौँ, रिपोर्ट नआउँदासम्म त्यहीँ बस्नुपर्ला ।’ टेकुले स्वाब संकलन गरेको ७२ घण्टामा पीसीआर परीक्षणको रिपोर्ट दिने गरेको छ ।
FACEBOOK COMMENTS