काठमाडौँ, ८ असार -पुकार तिमिल्सीनाको अध्यक्षतामा तारकेश्वर पत्रकार मञ्च गठन गरिएको छ ।तारकेश्वर नगरपालिका क्षेत्रभित्रका विविध गतिविधिको प्रचार–प्रसार गर्ने र तारकेश्वर नगरपालिकालाई समृद्ध गर्ने योजनामा सहयोग गर्ने उद्धेश्यका साथ मंच गठन गरिएको जनाइएको छ । भेलाले पुकार तिमिल्सीनाको अध्यक्षतामा एक पछि थप्नेगरी १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
संगठनको उपाध्यक्षमा उद्धवराज भेटुवाल, महासचिव शुसान्त न्यौपाने, सचिव कपिल भण्डारी, कोषाध्यक्ष सबु बस्नेत, सह–कोषाध्यक्ष प्रकाशराज कार्की, सदस्यहरुमा श्रीकृष्ण ढकाल, मोहन अधिकारी, जीवन हमाल, अस्मिता धमला, हरिराम भेटुवाल, जमुना धमला, सुप्रिमा लुइँटेल र सुनिता सिटौला रहेका छन् ।
मंचको सोही दिन बसेको बैठकले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा, प्रा डा केशवराज खड्का, श्रीराम पुडासैनी, श्रीराम केसी, सागर पण्डित, महेशजंग कुँवर र लक्ष्मीराज भण्डारी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास राज्यमन्त्री रामविर मानन्धरले पत्रकारले पनि समाजको लागि केही गर्न सक्छन् भन्ने उदाहरण दिन आग्रह गर्दै पेशा कसैको पनि सानो वा ठूलो नहुने भएकोले सरकारले गरेका सकारात्मक कामको सही मुल्यांकन गरी समाचार संप्रेसण गर्न पत्रकारहरुलाई आग्रह गरे ।
नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले हिजो आन्दोलनमा गोलीको प्रवाह नगरी समाचार संप्रेसन गर्ने र जोखिम मोलेर फोटो खिच्ने पत्रकारले अहिलेपनि राज्यको गल्ती कोट्याउन सक्नुपर्ने बताए ।
तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले भौतिक विकास र मानव जीवनमा आइपर्ने सबैखाले समस्यासँग जुध्ने काममा हातेमालो गर्न आफू तयार रहेको बताए ।
राजधानी दैनिकका सम्पादक सागर पण्डितले मिडिया राज्यको चौथो अंग भएकोले कसैलाई हचुवाको भरमा नभई सृजनात्मक रुपमा सहयोग गर्नुपर्ने बताए । उनले यसरी संगठित भएर राज्यलाई राम्रो कामको लागि झक्झक्याउने काम गरेकोमा आयोजक पत्रकारहरुलाई धन्यवाद दिँदै स्थानीय तहहरुले मिडियालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा (नेकपा) तानपाका लवकुमार श्रेष्ठ, कांग्रेसका विष्णुभक्त उप्रेती, पत्रकार शुसान्त न्यौपाने, ध्रुवराज खड्का, उद्धव अधिकारी लगायतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । श्रीराम केसीको अध्यक्षतामा भएको कार्यक्रम मनमैजु सांस्कृतिक समाज अन्तरगत सञ्चार विभागले आयोजना गरेको हो ।
FACEBOOK COMMENTS