काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई पूर्ववत् जारी राख्न भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ ।
प्राधिकरणले यसअघि २०७३ पुससम्म अनुदान सम्झौता गरी पहिलो किस्ता ५० हजार रुपैयाँ लिएका लाभग्राहीलाई २०७४ असारसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।
प्राविधिक, निर्माण सामग्रीको अभावलगायत कारणले दोस्रो किस्ता लिन नसक्ने सङ्ख्या अझै तीन लाखभन्दा बढी छ ।
लाभग्राही सूचीमा आठ लाख सात हजार ४८६ परिवार सूचीकृत छन् । असार तेस्रो साता नै दोस्रो किस्ता वितरण गर्ने समय थपका लागि निर्देशक समितिको बैठक डाकिएको थियो ।
असार २० गतेको मन्त्रिपरिषद्को निर्णयानुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएपछि बैठक स्थगित भयो ।
एक महिनादेखि प्रमुख कार्यकारी अधिकृत नहुँदा नीति निर्धारणका काम हुन नसके पनि नियमित कामका लागि कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा कार्यकारी समितिको बैठकले नियमित रुपमा आइपर्ने पुनः निर्माणका समस्या समाधान गर्ने कार्यविधि छ ।
भूकम्प प्रभावित ३२ वटै जिल्लाका जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र भवनलाई काम नियमित गर्न पत्राचार गरिएको सहप्रवक्ता घिमिरेले बताए । रासस
FACEBOOK COMMENTS