सिर्जना राणा होटेल व्यवसायीहरुको छाता संगठन होटेल एशोसिएसन (हान)की अध्यक्ष हुन्। नेपालको चर्चित र स्तरीय मध्य एक होटेल अन्नूर्णकी उनी सञ्चालक पनि हुन् । नेपाल भ्रमण वर्ष २०२० मा महत्वपूर्ण भूमिका रहने होटेलहरुको तयारी, नेपालमा होटेलको अवस्था र यसको गुणस्तर थप वृद्धि गर्न गरिनुपर्ने कामहरुका विषयमा उनीसँग कर्पोरेटले गरेको कुराकानीः
पछिल्लो समय नेपालमा धमाधम नयाँ होटलहरु खुलिरहेका छन् । व्यवसायी लगानी गर्न उत्साहित भएका हुन् ?
नेपाल एउटा यस्तो मुलुक हो जहाँ पर्यटन व्यवसाय सबैभन्दा मुख्य आर्थिक स्रोत हो । नेपाल सरकारले समेत यो क्षेत्रलाई प्राथमिकताको विषयमा राखेको छ । यस क्षेत्रमा बढी सम्भावनाहरु भएका कारण व्यवसायीहरुको यस क्षेत्रमा चासो तथा आकर्षण बढेको हुन सक्छ । तर सरकारले स्थापना हुन लागेका नयाँ होटल, रिसोर्ट आदिको स्तरीयताको अध्ययन गरेर मात्र व्यवसायका लागि अनुमति दिएमा राम्रो हुने थियो ।
काठमाडौंमा प्रशस्त मात्रामा होटलहरु निर्माण भइसकेका छन् तसर्थ यहाँको होटलहरुलाई भन्दा ग्रामिण भेगको विकासका लागि त्यहाँको संस्कृति तथा मौलिकता उजागर गर्ने हिसाबले होमस्टेहरुलाई बढावा दिन सकिन्छ । उदाहरणका लागि केही समय अगाडि भुटानस्थित एउटा दुर्गम गाउँमा पर्यटकहरु पुग्दा त्यो ठाउँ धेरै नै फोहोर एवं दयनीय अवस्थामा भेटियो तर भुटानी सरकारले त्यस क्षेत्रलाई आवश्यक सुधार गरी हाल सबैभन्दा सुन्दर एवं उच्च स्तरीय होमस्टे रहेको ठाउँमा परिणत गरिदियो । यसबाट नै बुझ्न सकिन्छ कि असम्भव केही पनि छैन । त्यसैले नेपालको ग्रामिण भेगमा पनि विकासका पूर्वाधारहरु स्थापना गरी पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।
होटल त खुल्दै गएका छन् तर पर्यटकलाई सन्तुष्ट बनाउने गरी सेवामा गुणस्तर वृद्धि भएको छ कि छैन ?
नेपालको होटल व्यवसायमा सेवाका गुणस्तर उच्च नै छ किनभने हामीले कुनै पनि विदेशी पर्यटक होटलमा प्रवेश गरेदेखिनै उहाँहरुको लगेज बोक्न सहयोग गरिदिनेदेखि लिएर उहाँहरु बाहिरिने बेलासम्ममा हरेक सहयोग गरिरहेका हुन्छौं । होटलमा रहँदा बस्दा समेत पर्यटकको सेवा सुविधामा कुनै त्रुटि नहोस् भन्ने हिसाबले सेवा दिइरहेका हुन्छौं । तर हामी विदेशको कुनै पाँच तारे होटलमा २००–२५० डलरसम्म तिरेर बस्यौं भने पनि कतिपय कामहरु आफैं गर्नुपर्ने हुन्छ ।
अझ सेवाको गुणस्तरीयमा वृद्धि गर्न कर्मचारीहरुलाई यस सम्बन्धी तालिम दिने, पर्यटकहरुलाई दिइने खाना स्वस्थकर हुनुपर्ने, समय–समयमा अन्य सेवा सुविधाको तह मूल्याङ्कन गर्ने, होटल व्यवस्थापनले संस्थागत तालिमका लागि बढावा दिने विषयमा गम्भिरता देखाउने हो भने पर्यटकको सन्तुष्टिका लागि दिइने सेवा सुविधामा अझ टेवा दिन सकिन्छ ।
नेपालका होटल अन्तराष्ट्रिय स्तरको बनाउन जरुरी छ भन्दै आउनु भएको छ । अहिले नेपालमा होटलहरुको अवस्था कस्तो छ ?
हालसालै खोलिएका नयाँ पाँचतारे होटलहरु अन्तराष्ट्रिय स्तर अनुसारनै निमार्ण भइरहेका छन् । अन्य ठूला तथा साना होटलहरुले पनि आफ्नो स्तरमा परिवर्तन गर पर्यटकहरुलाई उच्चस्तरीय सेवा दिन सक्नुपर्छ ।
तपाईं होटल व्यवसायमा लामो समयदेखि काम गर्दै आउनु भएको छ । नेपाल आउने पर्यटकले पाँचतारे होटलमा बस्न रुचाउँछन् वा नेपाली मौलिक घरमै बस्न रुचाउने धेरै हुन्छन् ?
यो चाहिँ पर्यटकको रुचीमा भर पर्छ । कुनै पर्यटकलाई नेपाली मौलिकता झल्कने घरमा बस्न मनपर्दा भने कुनै पर्यटक पाँचतारे होटलमा बस्न मन पराउँछन् ।
भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैभन्दा ठूलो भुमिका होटल व्यवसायीको हुन्छ । तपाईं हानको अध्यक्ष पनि हुनुहुन्छ के छ तपाईंहरुको तयारी ?
नेपाल भ्रमण वर्ष, २०२० मा आउने पर्यटकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल होटल संघले स्ट्यान्र्ड अप्रेटिङ प्रोस्युडर्स बनाइरेहेको छ । होटल संघ नेपालले त्रिभुवन विमानस्थल लगातका अन्य विमानस्थलहरुमा पनि नेपाल भ्रमण वर्ष, २०२० सँग सम्बन्धित आवश्यक सहयोगहरु ग्रिरहेको छ । नेपाल सरकारसँग समन्वय गरेर ७ वटै प्रदेशमा प्रशिक्षण दिने, नेपाली स्थानिय खानाका पहिचानका लागि, आवागमन हुने पर्यटकहरुलाई त्यस्तै प्रकारका खानाहरु उपलब्ध गराउने साथै एमआइसीई मिटिङ, इन्सेन्टिज, कन्फ्रेन्सिङ र एक्सहाइबेसन्सलाई पनि उत्थान गर्ने हाम्रो लक्ष्य रहेको छ । साथसाथै नेपाल सुन्दर देश हो भन्ने बोध गराउन हरेक क्षेत्रका फोहोर मैला व्यवस्थापन, होम स्टेको सुव्यवस्था, पर्यटकको सेवा सुविधाका लागि दिइनु पर्ने प्रशिक्षण आदिमा पनि जोड दिइरहेका छौं । किनभने उच्चस्तरीय तालिम प्राप्त भएका कर्मचारीहरुले मात्र प्रभावकारी रुपमा सेवा प्रदान गर्न सक्दछन् । साथै नेपालका सातैवटा प्रदेशहरुबाट कतिपय ठाउँहरु लाइफ एक्सपेरियन्स अन्तर्गत चिनिसकिएको छ ।
होटल व्यवसायमा सबै भन्दा ठुलो कुरा सेवा हो । त्यसमा दक्ष सेवक वा कामदार प्रत्यक्ष जोडिन्छ । यसको अवस्था कस्तो छ ?
नेपालमा पनि होटल व्यवसाय दक्ष कामदारहरु प्रशस्तै छन् तर समय परिर्वतनसँगैे विचारधाराहरु पनि परिर्वतन हुने कारण दक्ष कामदारहरु विदेश पलायन हुने अवस्था अहिले एकदमै बढी देख्न सकिन्छ । तर, कतिपय विदेश पलायन भएका नेपालीहरु नेपालमा नै केहि गर्नुपर्छ भनेर फर्किरहेका पनि छन् । जे होस दुर्व पक्ष औषत नै छ । हामीले पनि तह हरेर त्यहीअनुसारको दक्ष तथा अनुभवी कर्मचारी लिने गरेका छौं । दक्ष मात्र हुनुपर्ने नभई हरेक कामलाई लाज नमानी गर्न सके अझ राम्रो हुन्छ किनभने होटल व्यवसायमा कुनै पनि काम गर्न धक नमानी गर्नुपर्छ चाहे त्यो भाँडा माझ्ने वा सफा गर्ने नै किन नहोस् ।
अहिले होटल व्यवसाय सञ्चालन गर्नको लागि मुख्य समस्या के–के छन् । यसलाई कसरी सुधार गर्ने सक्ने देखिन्छ ?
समस्याहरुको कुरा गर्नुपर्दा होटल जति व्यवस्थित तरिकाले सञ्चालन गर्दा पनि औषत कोठा भाडा त्यति राम्रो छैन । त्यसकारण वार्षिक आय सोचे अनुरुप माथि जान सकेको छैन । जुन स्तरमा पर्यटकहरुलाई हामी व्यवसायीहरुले सेवा तथा सुविधा दिइरहेका हुन्छौं । त्यही अनुसारले दरमा रकम प्राप्त गर्न सके मात्र सफल भएको मान्न सकिन्छ नत्र भने होटल व्यवसायको रणनिति गलत भएको साबित हुन्छ ।
नेपालमा भित्रिने पर्यटकहरुको संख्या र होटलहरुमा पर्यटकले ओगटेको होटलका कोठाहरु तथ्याङ्क उपयुक्त तरिकाले नराख्दा समस्या देखिएको छ । साथै हाम्रो जस्तो पुराना होटलहरुमा क्षमता भन्दा बढी कामदार तथा कर्मचारी हुने अवस्थाले समेत थप समस्या तथा चुनौती दिएको छ । उदाहरणका लागि युरोप जस्ता विकसित राष्ट्रहरुमा एउटा रेष्टुरेन्टमा ४ जनाले गर्नुपर्ने काम दुईजनाले गर्छन् तर नेपालको परिवेशमा लगभग उल्टो छ । जुन राम्रो होइन । तर, नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषमा व्यवस्था भएको नियमले यस क्षेत्रमा केही राहत पुगेको छ । अझैपनि लगानी कर्ता र रोजगारकर्ताहरु मिलेर अघि बढ्ने हो भने सम्बन्ध राम्रो बनाएर अघि बढ्न सकिन्छ ।
यति मात्र होइन, सरकारद्वार बनाइएका नीति निर्माण, कर, टे«ड युनियनबाट झेल्नुपर्ने अनेकौं समस्याहरुले गर्दा पनि होटल व्यवसायीलाई धेरैनै अप्ठ्यारो पर्ने गरेको छ । यदि यस्ता समस्याहरु समाधान गरी सरकारले नयाँ भन्दा पुराना लगानीकर्ताहरुलाई प्राथमिकता दिन सके पर्यटन क्षेत्र अझ फस्टाउन सक्ने सम्भावना छ । नेपाल सरकारले यस्तो निति नियम लागु गर्नुपर्दछ जसले गर्दा लगानी कर्ता एवं कामदार गरी दुवै पक्षलाई सुरक्षित महसुस होस् ।
FACEBOOK COMMENTS