काठमाडौं, भदौ १२ – बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयले यही अंग्रेजी वर्ष २०२० को अन्त्य अर्थात आगामी पुस मध्यसम्म कोरोनाभाइरस संक्रमणका कारण ४९ हजार २ सय जनाको मृत्यु हुने प्रक्षेपण गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गएको मे महिनामा नेपालमा देखिएका नयाँ केस, आयातीय केस र समुदायस्तरको संक्रमण, नेपालमा लकडाउनको अवस्था, त्यतिबेलाको संक्रमण वृद्धिदर तथा मृत्युदरका आधारमा तथ्यांकको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको हो । अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट बेलायत सरकारको डिपार्टमेन्ट अफ फरेन डेभलपमेन्ट (डिएफआइडी) अन्तगर्तको विभाग हो ।
बेलायत सरकारको आधिकारिक वेबसाइट जीओभी डट युकेमा प्रकाशित शोधपत्रमा शोधकताृहरु प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डा. सुनिल पोखरेल, डा. दिप्ती लता तथा डा. राशिद जमानले नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई तीन फरक–फरक सुरक्षात्मक उपायको आधारमा वर्गीकरण गरेका छन् । यो अध्ययन गर्दाका समयमा नेपालमा लागू गरिएको लकडाउनको प्रतिबन्ध ८ देखि १० हप्तामा हटाइने, ८ देखि १० हप्ता पूरा भएपछि थप २६ दिनसम्म लम्ब्याइने र २६ हप्तासम्म प्रतिबन्ध लगाइएपछि पनि थप कडाइका नियमहरु लागू गरिने आधारमा तीन किसिमका नतिजाको प्रक्षेपण गरिएको छ ।
अध्ययनमा ‘न्यून अवरोध रणनीति’, ‘मध्यम अवरोध रणनीति’ र ‘उच्च अवरोध रणनीति’ गरी सुरक्षात्मक उपायका तीन मापदण्डका आधारमा सम्भावित संक्रमण प्रसार र प्रभावको अध्ययन गरिएको छ । न्यून अवरोध रणनीतिमा लकडाउन लागू गरिएको ८ देखि १० हप्तापछि सबै कुरा सामान्य अवस्थामा फर्काइँदा कस्तो असर पर्छ भन्ने अध्ययन गरिएको छ । यसो गर्दा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुने र ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । यद्यपि शोधपत्र लेख्ने समयमा यो समयअवधि तोकिएको भए पनि नेपाल सरकारले थप २ हप्ता पूर्ण कडाइ गरेको थियो ।
मध्यम अवरोध रणनीतिमा सुरुमा प्रतिबन्ध लगाइएको अवधि समाप्त भएपछि थप २६ हप्तासम्म स्कुलहरु पूर्ण रुपमा बन्द गर्ने र हात नियमित धुनुका साथै बाहिरबाट आउने केसलाई थप २६ हप्तासम्म सीमित गर्ने (सीमा र अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने) गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ । यद्यपि यो सुरक्षाको उपायमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने तथा सामाजिक दूरीको कडाइका साथ पालना हुने शर्तमा छुट दिने मापदण्ड तय तरी नतिजाको प्रक्षेपण गरिएको छ । उच्च अवरोध रणनीतिमा लक्षण देखिएकालाई सेल्फ आइसोलेसनमा राख्ने र त्यही घरमा बस्ने अरुलाई होम क्वारेन्टाइनमा राख्ने शर्त पनि थप गरिएको छ ।
तथ्यांकको विश्लेषणका आधारमा शोधकर्ताहरुले न्यून अवरोध रणनीतिअनुसार २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत संक्रमित हुने, ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरेका छन् । यसअनुसार २०२० को जुलाइको सुरुदेखि सेप्टेम्बरको सुरुसम्म संक्रमणको ‘पीक समय’ हुने र यतिबेला दैनिक ८ लाख ८६ हजार नयाँ केस थपिने तर राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको १० प्रतिशतभन्दा कम अर्थाथ ७५ हजार केस मात्र दर्ता हुने प्रक्षेपण गरिएको छ ।
मध्यम अवरोध रणनीति अपनाइएको अवस्थामा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ७३.१ प्रतिशत कोरोनाभाइरसबाट संक्रमित हुने र ४४ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । यो रणनीति अपनाइएको अवस्थामा भाइरस संक्रमणको पीक समय मध्य जुलाइदेखि अक्टोबरको सुरुवातसम्म हुनेछ । यो समयमा दैनिक संक्रमणको केस ५ लाख ४८ हजारसम्म पुग्नेछ जसको १० प्रतिशत अर्थात ५० हजार दैनिक केस मात्र देशको राष्ट्रिय स्वास्थ्य प्रणालीमा दर्ता हुनेछ । यो रणनीति अपनाउँदा न्यून अवरोध रणनीति भन्दा दैनिक संक्रमण दर १८ प्रतिशतले घट्नेछ भने देशको स्वास्थ्य प्रणालीमा दर्ता हुने नयाँ केस दैनिक २५ हजारले घट्नेछ । यो रणनीतिले मृत्युदर ५ हजारले घटाउनेछ ।
उच्च अवरोध रणनीति अपनाएको अवस्थामा ६४.८ प्रतिशत जनता संक्रमित हुने र ३२ हजार ९ सयको मृत्यु हुने प्रक्षेपण गरिएको छ । यो रणनीति अपनाइएको अवस्थामा भाइरस संक्रमणको पीक समय मध्य जूनदेखि अक्टोबरको अन्त्यसम्म हुनेछ । यो समयमा दैनिक संक्रमणको केस ५ लाख ३१ हजारसम्म पुग्नेछ जसको १० प्रतिशत अर्थात ४६ हजार ८ सय दैनिक केस मात्र देशको राष्ट्रिय स्वास्थ्य प्रणालीमा दर्ता हुनेछ ।
FACEBOOK COMMENTS