राष्ट्रियताको सकस, सीमा समस्या, राष्ट्रहितविरुद्धको सन्धि सम्झौता र भ्रष्टाचार चिन्ताको विषय : पूर्व राजा ज्ञानेन्द्र
काठमाडौं, १० असार । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा बारम्बार राष्ट्रियताको सकस, सीमा समस्या, राष्ट्रहितविरुद्धको सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुःखद विषयहरु उठिरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
उहाँले भ्रष्टाचार लापरवाही, पक्षपात र भेदभावका कुरा पनि दिनहुँ उठ्ने गरेको उल्लेख गर्दै देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारम्बार प्रश्न, सन्देह र विवाद एवं विग्रह उत्पन्न हुनु चिन्ताको विषय भएको बताउनु भएको छ ।
पूर्व राजा शाहले देशभित्र देखिएका समस्यालाई लिएर होनहार यूवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनू पर्ने अवस्था सिर्जना भइरहन्छ भन्ने प्रश्न गर्दै यो पक्ष सबैका लागि सोचनीय र विचारणीय भएको पनि बताउनु भएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै मुलुक विषम परिस्थितमा भएका कारण यही असारमा पर्ने आफ्नो जन्मोत्सव नमाउने निर्णय गरेको जानकारी पनि उहाँले गराउनु भएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाल बहूजातीय, बहूभाषिक र बहूविविध भौगोलिक विशेषता रहेको मूलूक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पनपनाउंदै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।’
उहाँले आजको यो कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि नहुने उल्लेख गर्दै नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधीनताको संरक्षण र सर्वतोमूखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भइसकेको स्मरण पनि विज्ञप्तीमार्फत गराउनु भएको छ ।
उहाँले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नू पर्ने उल्लेख गर्दै राष्ट्रियता नै नेपालीको मुल मन्त्र हो र एकता नै देशवासीको शक्ति भएको पनि बताउनु भएको छ ।
पूर्व राजा शाहले अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबाट आक्रान्त रहेको र संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नू परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह पनि गर्नु भएको छ ।
साथै उहाँले यस अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेतिथिप्रति गहिरो चिन्ता पनि व्यक्त गर्नु भएको छ ।
विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहदा चूनौती पनि आएको यो समय सन्दर्भ एक असर पनि र अवसर पनि भएको उल्लेख गर्दै उहाँले फर्कने सबैको श्रम, शिप र सामर्थको सदूपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनू पनि नितान्त जरुरी रहेको बताउनु भएको छ ।
पूर्व राजा शाहले विज्ञप्तीमा भन्नु भएको छ, ‘बदलिंदो विश्व व्यवस्थालाई बूझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति, संस्कृति र पद्धतितिर फर्कनू जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्वनको परिपाटी फेरि कायम हून्छ । केहि दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शीर फेरि ठाडो पार्नू परेको छ ।’
FACEBOOK COMMENTS