काठमाडौं – नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण थालिने भएको छ ।
बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।
नेपालबाट गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा नेतृत्वको टोलीले चाईना जिओलोजिकल सर्भेसँग पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउन सम्झौता गरेको हो ।
०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन ।
सम्झौता अनुसार अबको एक महिनाभित्र चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने जनाईएको छ ।
उनका अनुसार चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्नेछ । पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल सर्भे विश्वकै उत्कृष्ठ संस्था मानिन्छ ।
यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।
प्रचुर सम्भावनाका बावजुद विज्ञता, प्राविधिक र दक्ष जनशक्ति अभावमा यसबारे विस्तृत अनुसन्धान हुन सकेको छैन ।
FACEBOOK COMMENTS