काठमाण्डौँ — चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थको ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ।
नेपाल आयल निगमको वीरगन्ज क्षेत्रीय कार्यालयले जनाए अनुसार चालकहरु काममा फर्किएपछि शुक्रवार दिउँसो २ बजेदेखी रक्सौल स्थित इण्डियन आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थको लोडिङ सुरु भएको छ।
शनिवार नियमित किसिमले लोडिङ गरेर ट्यांकरहरु आउने निगमका वीरगन्ज क्षेत्रीय प्रबन्धक जगदीशचन्द्र यादवले बताए ।
यस्तै आइसिपी भन्सार भएर भित्रिने बिहारको बरौनीबाट आउने इन्धन र खाना पकाउने एलपी ग्यासको आपुर्ती पनि सुचारु हुने उनले जानकारी दिए।
यसैबीच नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले यस पटकको चालकहरुको हड्तालको घटनाले अब इन्धन ढुवानीका लागि बैकल्पिक व्यवस्था गर्नुपर्ने निष्कर्षमा पुगेको बताए।
FACEBOOK COMMENTS