काठमाण्डौँ — नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट निगमको विराटनगर डिपोमा डिजेल ल्याएको ट्यांकरबाट २५ सय लिटर डिजेल बीच बाटोबाट चोरी भएपछि उक्त ट्यांकरका सञ्चालक शुकदेव सिंहका १२ ट्यांकरलाई चार महिना पिडिओ नदिने निर्णय गरेको निगमले जनाएको छ ।
समितिले डिजेल चोरी भएको को १ ख ४९६५ नम्बर ट्यांकरको निगमसँगको करार समेत रद्द गर्ने निर्णय गरेको छ ।
विराटनगरको डिपोमा इन्धन चोरी घटना गम्भीर प्रकृतिको भएकाले ट्यांकरको करार रद्द र चालकलाई भविष्यमा इन्धन ढुवानीमा अयोग्य हुने निर्णय भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
निगम सञ्चालक समितिले उक्त डिजेल चोरी घटनाको विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।
— नागरीक
FACEBOOK COMMENTS