काठमाण्डौँ — पेट्रोलियम पाइपलाइन ओछ्याउन वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गरेको छ।
रक्सौलबाट अमलेखगञ्जसम्म पर्ने पाइपलाइन रुटमा आठ किलोमिटर क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ।
ईआईए स्वीकृतमा ढिलाइ हुँदा वन क्षेत्रमा पाइपलाइन ओछ्याउने काम अबरुद्ध थियो।
वन तथा वातावरण मन्त्रालयले केही दिनअघि मात्रै वन क्षेत्रका रूख कटानी गर्न दिने विषयमा ईआईए स्वीकृत गरेको पाइपलाइन आयोजना सिमराका मेकानिकल इन्जिनियर शरद पौडेलले बताए ।
उनका अनुसार वन क्षेत्रमा पाइप ओछ्याउन उक्त निकुञ्जको पाँच हजार आठ सय रूख काट्नुपर्ने यसअघि निक्र्यौल गरिएको थियो।
ईआईए स्वीकृत गरे पनि वन तथा वातावरण मन्त्रालयले रूखको पुनः ग्रेडिङ गरी मूल्यांकन गर्ने जानकारी नेपाल आयल निगमलाई दिएको छ।
ग्रेडिङका आधारमा रूख कटानी गर्न दिने विषयमा उक्त मन्त्रालयले अन्तिम निर्णय दिनेछ।
मन्त्रालयले ३० सेन्टीमिटरमाथिको एक श्रेणी, आठ सेन्टिमिटर माथिको दोस्रो श्रेणी र झाडी बुट्यानलगायतलाई तेस्रो श्रेणीमा वर्गीकरण गरेको छ।
पाइपलाइन आयोजनाका अनुसार आगामी सन् २०१९ को मार्चसम्म ओछ्याइसक्नुपर्ने पाइपलाइनमध्ये हालसम्म २१ किलोमिटर खण्डमा खाल्डो खनेर पाइप विस्तार भइसकेको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS