काठमाडौँ — पेट्रोलियम पदार्थ भण्डारणमा ३६ प्रतिशत हिस्सासहित सबैभन्दा अगाडि प्रदेश २ देखिएको छ । दोस्रो नम्बरमा वाग्मती प्रदेश छ । यसको हिस्सा ३२ प्रतिशत छ । अन्य प्रदेशको भण्डारण भने सन्तोषजनक छैन । कर्णालीमा पेट्रोल र डिजेल मौज्दात छैन । मट्टीतेल र हवाई इन्धनको मौज्दात पनि अत्यन्त न्यून रहेको आयल निगमको तथ्यांक छ ।
‘कर्णालीमा हवाई इन्धन मौज्दात गर्न ७० किलोलिटर क्षमता छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘मट्टीतेल र हवाई इन्धनबाहेक पेट्रोल, डिजेलको भण्डारण छैन ।’ कर्णालीमा ७० किलोलिटर हवाई इन्धनको क्षमतामध्ये ५० प्रतिशत मात्रै मौज्दात छ । हाल मुलुकभर पेट्रोलको ८ हजार ६ सय २५, डिजेलको ४५ हजार ५ सय ३४ किलोलिटर र मट्टीतेलको ५ हजार १ सय ६८ किलोलिटर क्षमता छ ।
‘यसमध्ये कर्णाली प्रदेशमा कुल भण्डारण क्षमताको १ प्रतिशतभन्दा पनि कम छ,’ उनले भने । निगमको विरणअनुसार भण्डारण क्षमता पनि पूर्ण रूपमा भरिएको छैन । लकडाउनका कारण ट्यांकर चालक भारत जान मानेका छैनन् । डिजेल पाइपलाइनबाट आयात भए पनि पेट्रोल लिन चालक जान त्यति उत्साहित छैनन् ।
‘कोरोनाका कारण चालक डराएका छन् । अहिले माग पनि छैन,’ निगमका एक अधिकारीले भने, ‘मौज्दात भएकैबाट वितरण गरिरहेका छौं ।’ निगमका अनुसार प्रदेश १ मा पेट्रोलको ५ सय ६० किलोलिटर भण्डारण क्षमता छ । यसमध्ये ५ सय ५१ किलोलिटर मौज्दात छ । डिजेल ७ हजार १ सय १० किलोलिटर क्षमतामध्ये ६ हजार किलोलिटर मौज्दात छ । प्रदेश २ मा पेट्रोलको भण्डारण क्षमता १ हजार ९ सय ३० किलोलिटर छ । यसमध्ये १ हजार किलोलिटर मौज्दात छ । डिजेलको भण्डारण क्षमता २ हजार ६ सय किलोलिटर छ । १ हजार ६ सय किलोलिटर मौज्दात रहेको उपाध्यायले बताए ।
वाग्मती प्रदेशमा पेट्रोलको भण्डारण क्षमता ५ हजार ३ सय १० र डिजेलको ८ हजार ४ सय किलोलिटर छ । यसमध्ये ४ हजार २ सय किलोलिटर पेट्रोल र ३ हजार ९ सय किलोलिटर डिजेल मौज्दात छ । हवाई इन्धनको भण्डारण क्षमता ७ हजार १५ किलोलिटर छ । यसमध्ये ६ हजा १ सय ५० किलोलिटर मौज्दात रहेको निगमले जनाएको छ ।
प्रदेश ४ मा ३ सय ५० किलोलिटर क्षमतामा ३ सय १६ किलोलिटर पेट्रोल मौज्दात छ । डिजेलको २ हजार २ सय ८० किलोलिटर भण्डारण क्षमतामा २ हजार १ सय ३४ किलोलिटर मौज्दात रहेको निगमले जनाएको छ । प्रदेश ५ मा १ सय ४० किलोलिटर क्षमतामा १ सय ५ किलोलिटर पेट्रोल र ३ हजार ४० किलोलिटर क्षमतामध्ये २ हजार ७ सय ३९ किलोलिटर डिजेल मौज्दात छ ।
प्रदेश ७ मा पनि पेट्रोलको मौज्दात क्षमता न्यून छ । उक्त क्षेत्रमा ७० किलोलिटर मात्रै भण्डारण क्षमता छ । यसमध्ये ६६ किलोलिटर पेट्रोल मौज्दात रहेको निगमको तथ्यांक छ । डिजेलको भण्डारण क्षमता भने १ हजार ५ सय ९० किलोलिटरमध्ये १ हजार ३ सय ६५ किलोलिटर मौज्दात रहेको जनाएको छ । जानकारका अनुसार भएको मौज्दात क्षमताले करिब १० दिन धान्न धौधौ पर्छ । ती भण्डारण क्षमतामा पनि पर्याप्त मौज्दात नहुँदा संकटका बेला थप समस्या उत्पन्न हुन सक्ने उनीहरू बताउँछन् । भण्डारण नभएको क्षेत्रमा सिधै ट्यांकरबाट वितरण गरिन्छ ।
निगमकै जग्गा भएको ठाउँमा भण्डारण बनाउने योजना भएको रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । त्यसपछि थप जग्गा खरिदलाई प्राथमिकता दिइनेछ । ‘९० दिनलाई पुग्ने मौज्दात आवश्यक छ । निगमसँग भएकै जग्गा सदुपयोग हुन्छ । ती ठाउँमा भण्डारण बनाउने योजना छ,’ उनले भने, ‘त्यसपछि नयाँ ठाउँमा जग्गा खोजी हुन्छ ।’ पाइपलाइन र भण्डारणलाई मुख्य प्राथमिकता दिइएको उनले बताए ।
आव ०७७र७८ को नीति तथा कार्यक्रममा अमलेखगन्जदेखि लोथरसम्म पाइपलाइन विस्तार हुने जनाइएको छ । भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गर्ने, चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण कार्य प्रारम्भ गर्ने र झापा एवं धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण अगाडि बढाइने पनि उल्लेख छ । भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतमा रहेका मट्टीतेलको ट्यांकलाई पेट्रोलमा रूपान्तरण गर्ने योजना बनाइएको पौडेलले जानकारी दिए ।
निगमको तथ्यांकअनुुसार सबैभन्दा बढी डिजेलको माग छ । सोहीअनुुसार आयात भइरहेको छ । आर्थिक सर्वेक्षणअनुसार ०७५र७६ को पेट्रोलियम पदार्थको कुल आयातमध्ये ५८ प्रतिशत डिजेल आयात भएको छ । यसैगरी पेट्रोल १९ र एलपी ग्यास १५ प्रतिशत छ । हवाई इन्धन ७ र मट्टीतेलको १ प्रतिशत मात्रै आयात भएको छ । ‘आव ०७५र७६ को नेपालको प्रक्षेपित जनसंख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ लाई आधार मान्दा आव ०७५र७६ मा प्रतिव्यक्ति पेट्रोलियम आयातमा सबैभन्दा बढी डिजेल ५७।७ लिटर छ । पेट्रोल आयात प्रतिव्यक्ति १९।१ लिटर र ग्यास प्रतिव्यक्ति १४।५ किलो छ,’ सर्वेक्षणमा भनिएको छ ।
FACEBOOK COMMENTS