काठमाडौं,पुस १ – चिनियाँ राष्ट्रिय फर्मा कम्पनी, साइनोफ्रामले निर्माण गरेको कोभिड विरुद्धको खोपलाई बहराइनले स्वीकृत गरेको छ । नागरिकहरुलाई यो खोप लिनका लागि अनलाइन आवेदन पनि खुलाइसकेको छ ।
पेरु सरकारले चाहिँ शनिबार यही कम्पनीको खोप ट्रायलमा समस्या देखिएको बताउँदै स्थागित गरिएको खबर गरेको थियो । उता बहराइनको राष्ट्रिय स्वास्थ्य निरीक्षण निकायले आइतबार यसबारे आधिकारिक जानकारी दिएको हो । तर यसमा साइनोफ्रामले विकास गरेको दुईवटा मध्ये कुन खोप स्वीकृत भएको भन्ने स्पष्ट बताएको छैन । निकायका अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायलबाट प्राप्त डाटामा सो खोप ८६ प्रतिशत प्रभावकारी रहेको देखिएपछि यस्तो निर्णय गरिएको हो ।
बहराइनको अर्थ मन्त्रालयले अहिले १८ वर्षभन्दा माथिको उमेरका जोकोहीले पनि निःशुल्क खोप प्राप्त गर्न अनलाइनमार्फत आवेदन दिन सक्ने बताएको छ ।
यसै महिना यूएईले पनि तेस्रो चरणको क्लिनिकल ट्रायलको अन्तरिम विश्लेषणपछि साइनोफ्रामकै एक युनिट, ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट’ ले निर्माण गरेको खोपको डाटाबारे यस्तै घोषणा गरेको थियो । यूएईले यो खोपको तेस्रो चरणको ट्रायल जुलाइमा सुरु गरेको थियो जसलाई पछि बहराइन, जोर्डन अनि इजिप्टमा पनि विस्तार गरिएको हो ।
FACEBOOK COMMENTS