म्याड्रिड — युरो २०२० को समूह चरणमा पोर्चुगल फरक फरक खाले भावनात्मक क्षणबाट गुज्रियो । तर क्रिस्टियानो रोनाल्डो आफैं गोलको लयमा देखिएपछि पोर्चुगलको आत्मविश्वास पक्कै बढेको हुनुपर्नेछ । समूह ‘एफ’ मा पोर्चुगल तेस्रो स्थानमा थियो फ्रान्सलाई २–२ को बराबरीमा रोकेपछि । यसअघि पोर्चुगलले हंगेरीलाई पराजित गरेपछि आफै जर्मनीको हातबाट नमज्जासँग ४–२ ले पराजित भयो । यसै नतिजाका कारण आइतबार पोर्चुगलले सामना गर्नुपर्नेछ बेल्जियम ।
सेभियामा हुने यो खेलमा पोर्चुगलको प्रतिद्वन्द्वी अरू कोही होइन, फिफा वरीयताको विश्व नम्बर एक टिम हो । तय छ पोर्चुगलविरुद्ध बेल्जियम ‘ब्लकबस्टर’ खेल हो, अन्तिम १६ को । अहिले तत्काल क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु गोल्डेन बुटको पछाडि पनि छन् । रोनाल्डोले अहिलेसम्म ५ गोल गरिसकेका छन् भने लुकाकु पनि धेरै पछाडि छैनन् । उनले ३ गोल गरेका छन् । पुस्कास एरिनामा भएको खेलमा पोर्चुगलले पक्कै पनि एकै अंकमात्र बटुल्न सकेको छ ।
तर डिफेन्डिङ च्याम्पियनका लागि विश्व च्याम्पियनविरुद्धको यो खेलमा आफूले गरेको प्रदर्शन आत्मविश्वास बढाउने खालकै थियो । जर्मनीसँग बिर्सनलायक खेलेपछि पोर्चुगलले फ्रान्सविरुद्ध भने संगठित, प्रयत्नशील र आक्रामक सबै भरिएको खेल प्रदर्शन गरेको थियो । यो यस्तो प्रदर्शन थियो, जसमा टिकेर पोर्चुगलले सन् २०१६ को युरो र त्यसको तीन वर्षपछि नेसन्स लिग जितेको थियो । त्यसैले पोर्चुगाली प्रशिक्षक फर्नान्डो सान्तोस मान्छन्, जर्मनीविरुद्ध खेलेपछि टिमको प्रदर्शनमा धेरै सुधार आएको छ ।
उनी भन्छन्, ‘अहिले हामी निकै बलियो छौं । हाम्रो प्रदर्शन पनि लगातार उत्कृष्ट छ । हामीले खेलमा लगातार नियन्त्रण राखेर आक्रमण पनि बुनिरहेका छौं ।’ यसैक्रममा उनले टिम छनोटमा केही बहादुरीपूर्ण निर्णय गरेका छन् । पारम्परिक ४–३–३ को शैलीमा पछिल्लो दुई वर्ष परिवर्तन गराएर खेलाइरहेका छन् । उनले थपेका छन्, ‘हामी विश्वका कुनै पनि उत्कृष्ट टिमलाई हराउन सक्षम छौं । कसैले नसोचे हुन्छ, पोर्चुगललाई सजिलै हराउन सकिन्छ भनेर ।’
उनका बेल्जियम समकक्षी रोबर्टो मार्टिनेज पनि मान्छन्, रोनाल्डो ठूलो चुनौती हो । तर आफ्नो टिमको आक्रामक रणनीतिमा कुनै परिवर्तन नहुने उनको दाबी छ । समूह ‘बी’ मा बेल्जियमले कठिन विपक्षी टिम पाए पनि सबै खेलमा जित निकालेर पूर्ण ९ अंक बटुलेको थियो । सन् २०१६ मा पनि बेल्जियमको प्रदर्शन यस्तै थियो । अहिले लयमा रहेका लुकाकु, चोटमुक्त भएका केभिन डे ब्रुयन र इडेन हाजार्डसँगै बेल्जियमको टिममा स्टार खेलाडीको कुनै कमी छैन ।
मार्टिनजले भनेका छन्, ‘हामी जस्तो छौं त्यस्तै भएर खेल्नेछौं । हामीले कसैलाई भनेर परिवर्तन भएर खेल्ने छैनौं । हाम्रो लक्ष्य नै आक्रामक भएर खेल्ने हो । यसैअनुसार हामी सुरुमै गोल निकाल्न प्रयत्नशील रहन्छौं । यसबीच हामीले संयमित भएर खेल्नुपर्ने तथ्य पनि झुलेका छैनौं । कुन बेला आक्रमण गर्ने, कुन बेला काउन्टर आक्रमणमा भरपर्ने र कुन बेला संयमित भएर खेल्ने हो, त्यो खेलमै भरपर्नेछ । तर हामी उत्तिकै आत्मविश्वासी छौं । जतिबेला हामी मज्जाले खेल्छौं, हाम्रो खेल विश्वस्तरीय हुने गर्छ ।’
बेल्जियम विश्वकप २०१८ को तेस्रो स्थानमा आएको थियो । टोलीको नजर अहिले नै जुलाई ११ मा वेम्बलीमा हुने फाइनलमा छ । तर यो बाटो सजिलो हुने छैन । बेल्जियमले पोर्चुगलको चुनौती काट्ने हो भने पनि त्यसपछिका खेलमा इटाली र फ्रान्स वा स्पेनको सामना गर्नुपर्ने हुन्छ । त्यसैले मार्टिनेज थप्छन्, ‘पक्कै पनि बाटो कठिन छ । तर यस्ता खेल खेलर जित्नुको मज्जा आफ्नो ठाउँमा छ । हामी राम्रो हुनेमा विश्वास लिइरहेका छौं ।’
FACEBOOK COMMENTS