काठमाडौं, माघ २८ –नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले आज बुधबार राजधानी काठमाडौंमा गर्न लागेको विरोध सभामा १४ जना नेता वक्ताको रुपमा तोकिएका छन् ।
प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसहित केन्द्रीय सदस्यहरु समेत गरी १४ जना नेता विरोध सभाका लागि वक्ता तोकिएका हुन् ।
सभामा महिला नेतृ अञ्जना विशंखे, अमृता थापा र रामकुमारी झाँक्री वक्ता हुनेछन् । यस्तै, नेताहरु भानुभक्त जोशी, महफुज अन्सारी, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल वक्ताको रुपमा तोकिएका प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
सभामा प्रमुख वक्ताका रुपमा भने अध्यक्षद्व माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् ।
बुधबारको हुने सभाको अध्यक्षता हितबहादुर तामाङले गर्नेछन् भने सभा सञ्चालनको जिम्मेवारी स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई दिइएको छ । सभामा नेता जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राख्ने रिजालले जानकारी दिए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । विभाजित नेकपाको एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र नेपालले गरिरहेका छन् ।
प्रचण्ड-नेपाल नेतृत्वको खेमा प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा छ । प्रचण्ड नेपाल समूहले माघ महिनामा मात्रै प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा दोस्रो सभा गर्दै छ । प्रचण्ड-नेपाल समूहले काठमाडौंमा नै माघ ९ गते र पुस १४ गते आमसभा गरेको थियो ।
प्रचण्ड-नेपाल समूहले आज बुधबारको सभालाई ऐतिहासिक र विशाल आमसभा भनेको छ ।
FACEBOOK COMMENTS