ओलि सरकारलाई प्रचण्डको समर्थन
काठमाडौं । नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट पहल गर्न नेता कार्यकर्ताहरुलाई अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ७१ औं वर्षमा प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले सो अपिल गरेका हुन् ।
अध्यक्ष प्रचण्डले प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको बताउँदै यो ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न सबैलाई आग्रह गरेका छन् ।
उनले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको दाबी गर्दै भनेका छन, ‘ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् ।
प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो । पार्टी्भित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ ।’
७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको नभई विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश दिएको बताउँदै कठोर संघर्षको बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलव्धीहरु प्राप्त भएको बताएका छन् ।
FACEBOOK COMMENTS