काठमाडौं, पुस १४- काठमाडौंमा ३८ प्रतिशत सवारीसाधन प्रदुषण जाँच गर्दा फेल भएका छन् । सवारी फिटनेस परीक्षण केन्द्र टेकूले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा विभिन्न प्रकारका करीब ३८ प्रतिशत सवारी प्रदुषण परीक्षणमा फेल भएको पाइएको छ ।
केन्द्रका अनुसार चालू आवको पहिलो ५ महीनामा ५ हजार ५०० सवारीको प्रदूषण जाँच गरिएकोमा २ हजार भन्दा बढी सवारी जाँच गर्दा फेल भएकाहुन् ।
प्रदूषण जाँच गर्दा फेल भएकामा पेट्रोल भन्दा डिजेलबाट चल्ने सवारीसधान बढी छन् । केन्द्रका प्राविधिक इन्जिनीयर लालबाबु यादवले केन्द्रमा औषतमा दैनिक ८० ओटा सवारी जाँचका लागि आउने गरेका छन्, जसमा ३० भन्दा बढी सवारी जाँचपासमा फेल हुन्छन् ।
प्राविधिक इन्जिनीयर यादबले भने, ‘जाँचमा फेल हुने कतिपय सवारीमा कार्बन मोनोअक्साइड र हाइड्रोकार्बनको मात्रा एकदमै उच्च भेटिएको छ ।’
केन्द्रमा २/ २ ओटा डिजेल र पेट्रोलका सवारीको प्रदूषण जाँच्ने ‘उत्सहर्जन जाँचयन्त्र’ छन् । जसले सवारीले उत्सर्जन गर्ने कार्बन मोनोअक्साइड र हाइड्रोकार्बन जस्ता हानिकारक धुँवाको मात्रा जाँच्दछन् ।
विभिन्न अध्ययनले काठमाडौंमा सबैभन्दा बढी प्रदूषण सवारीसाधनबाट हुने गरेको र यसले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको भए पनि यसको नियन्त्रण हुन सकेको छैन । सवारी तथा यातायात ऐन २०४९ अनुसार प्रत्येक ६÷६ महीनामा सवारीको प्रदूषण जाँचगर्नुपर्ने भए पनि कतिपय सवारीसाधनको प्रदुषण नै जाँच गर्ने गरिएको छैन ।
यातायात व्यवस्था विभागकाअनुसार सवारी परीक्षण केन्द्र टेकूले दैनिक १०० भन्दा बढी सवारीको प्रदुषण परीक्षण गर्नुपर्दछ, तर उक्त केन्द्रको तथ्यांकअनुसार विभागले तोकेअनुसार सवारीको प्रदुषण जाँच भएको देखिदैन ।
यातायात अभियान्ता राम थापा सेटिङमा सवारी चालकले ‘हरियो स्टिकर’ किन्ने गरेको आरोप लगाउँछन् । ‘कतिपय सवारीलाई जाँचगर्न लगिदैन तर हरियो स्टिकर पाउँछन्,’ थापाले बताए ।
थापाको यस अभिव्यक्तिलाई वन तथा वातावरण विभागले यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा गरेको छड्के जाँचले पनि पुष्टि गर्छ । विभागले एक महीनादेखि सडकमै सवारीको छड्के प्रदुषण जाँच गरिरहेकोमा अधिकांश सवारी प्रदुषणयुक्त भेटिएका छन् ।
‘छड्के जाँचगर्दा प्रदुषणयुक्त भेटिने सवारीको संख्या बढी छ,’ विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए ।
सवारी प्रदुषणमा फितलो कानूनका कारण सवारी प्रदुषणमा फेल हुने सवारीको संख्या नघटेको यातायातविद् थापा बताउँछन् । यातायात व्यवस्था विभागकाअनुसार प्रदुषणयुक्त सवारीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार बढीमा रू।१ हजार ५०० सम्ममात्रै जरिवाना हुने गरेको छ ।
विभागले प्रदुषण जाँचमा फेलहुने सवारीलाई कारवाही गरिरहेको बताएको छ । हाल सवारी जाँचमा फेल भएमा कारवाहीगरि सवारीको मर्मत गरेर एक हप्ताभित्र पुनः सवारी जाँच गर्न समयावधि थपिने गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । आजको आर्थिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS