असार २१ – समृद्धिको आधार सडक हो भन्दै प्रदेश सरकारले दुई वर्ष अघि छनोट गरेका ९ वटा प्रदेश गौरवका सडक आयोजना कछुवा गतिमा छन्। धेरै सडकको ठेक्का नै लागेको छैन। केहीको ठेक्का भए पनि काम सुरु भएको छैन।
अछामको मंगलसेनलाई तराईसँग जोड्ने छोटो दूरीको चिसापानी–जंगलघाट–मंगलसेन सडक प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ का रुपमा राखेको ३ वर्ष भयो तर निर्माण सुस्त छ।
२०२८ सालमा तत्कालीन अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले चिसापानी–जंगलघाट–मंगलसेन ट्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए। राजाको पालामा सडकको योजना त बन्यो तर त्यसले पञ्चायत हुँुदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँदासमेत मूर्त रुप पाएको छैन।
धनगढीबाट अछामसम्म झण्डै तीन सय किलोमिटर सडक छ। तर चिसापानी–जंगलघाट–मंगलसेन सडक बन्यो भने त्यो दूरी १ सय १० किलोमिटरमा छोटिनेछ। २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमाना जोडिएको भारतको तीकुनियाबाट जिप किनेर त्यसलाई काठमा बाँधेर, काँधमा बोकेरै मंगलसेन ल्याएका थिए।
‘तत्कालीन जिल्ला पञ्चायत सभापतिको विकासप्रति तीव्र इच्छा थियो। हामी जिप बोकेको हेर्नकै लागि चिसापानीबाट अछामसम्म पुगेका थियौं’, राष्ट्रिय अनुसन्धान विभागका सेवा निवृत डीएसपी दानबहादुर रावलले भने। जिप पुगेपछि भण्डारीले राजा महेन्द्रलाई सडक योजना माग गरेका थिए।
चिसापानी–जंगलघाट–मंगलसेन सडक त बनेन तर दुर्गम जिल्लाको श्रेणीमा रहेको अछाममा गाडी पुगेको भन्दै कर्मचारीले पाउने दुर्गमभत्ता भने काटियो। त्यतिबेला सदरमुकाममा गाडी भएको जिल्ला सुगम मानिन्थ्यो। उनले काँधमा बोकेर सदरमुकाममा गाडी पुगेकाले अछाम सुगम जिल्ला भएको बताए।
प्रदेश सरकारले पहिलो वर्ष नै यो सडकलाई प्रदेश गौरव आयोजनाका रुपमा अघि बढायो। यो सडकको अहिले ठेक्का मात्रै भएको छ। प्रदेशले यसको नाम चिसापानी–ऋषिदह–बडिमालिका सडक आयोजना नाम दिएको छ। यो सडकको चालु आर्थिक वर्षमा बल्ल साढे ९ करोडको ठेक्का भएको छ। यही जेठ ९ गते बानियाँ निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भइ जेठ २९ गतेदेखि काम सुरु भएको पूर्वाधार कार्यालय अछामले जनाएको छ।
पूर्वाधार कार्यालयका अछामका प्रमुख जंगबहादुर थापा भन्छन्, ‘जंगलघाटदेखि तुर्माखाद गाउँपालिकाको बाँसकाँडासम्म २४ किलोमिटर खोलिएको ट्रयाकमा स्तोन्नति गरिएको छ।’
यो सडक कैलालीको चिसापानी हुँदै जंगलघाट अछामको तुर्माखाद, गैरीटाड, कालागाउँ, दर्ना, माझेठाना, जयगढ नन्देगढा, मेल्लेख, षोडशा, क्रषिदह हुँदै बाजुराको बडिमालिका पुर्याइनेछ। बैतडीको सतबाँझ– श्रीभावर सडक पनि अर्को प्रदेश गौरवको आयोजना हो। सतबाँझ– श्रीभावर सडकले पूर्णता पाए पुरचौडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका केही वडाका नागरिक सदरमुकमसँग जोडिनेछन्।
यो सडकले सीमा नाका झुलाघाट पुग्न बझाङ जिल्लाका नागरिकलाई समेत सहज हुनेछ। ‘अहिलेसम्म यो सडक कालोपत्रे भइसक्नुपर्ने हो तर यस्तै त हो नि हाम्रो देशको विकास’, जिल्ला विकास समिति बैतडीका पूर्वसभापति परमानन्द भट्टलले भने। तत्कालीन जिल्ला विकास समितिले यो सडकको विभिन्न स्थानमा ट्रयाक ओपन गरिसकेको थियो।
२०५५ सालमा शिलान्यास गरिएको सडक २०७२ सालसम्म ४ किलोमिटर मात्रै खनिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशको गौरवको आयोजनामा सूचीकृत भएको बैतडीको सतबाँझ– श्रीभावर–हाट–दार्चुला सडकमा अझै पनि काम सुरु भएको छैन। चालु आर्थिक वर्षदेखि निर्माण गर्ने गरी प्रदेश गौरवको आयोजनाका रुपमा राखिएको यो सडकमा काम गर्न बल्ल निर्माण कम्पनी छनोट गरिएको छ।
सतबाँझ– श्रीभावर सडकको अहिले १५ किलोमिटरमा गाडी गुड्छ। यस्तै सोही सडकअन्तर्गतको श्रीभावर–हाट सडक पनि सञ्चालनमा छ। ती दुवै सडकलाई जोड्ने र स्तरोन्नति गरी दार्चुलासँग जोड्ने हिसाबले प्रदेश गौरवको आयोजनामा राखिएको हो।
जिल्लाको मध्य भाग भएर जाने यो सडक सञ्चालनमा आए सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाका नागरिक बढी लाभान्वित हुनेछन्। ‘सतबाँझ– श्रीभावर–हाट–दार्चुला सडक जोडिए सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाको सदरमुकामसँगको दूरी छोटिनेछ’ ,सुर्नया ८ का वडा अध्यक्ष आनन्दसिंह बोहरा भन्छन्।
चालु आर्थिक वर्ष सतबाँझ– श्रीभावर–हाट–दार्चुला सडकअन्तर्गत कालोपत्रे सुरु गर्न दुई प्याकेजमा ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीलले बताए। सतबाँझदेखि श्रीभावर खण्डमा १० करोड र श्रीभावदेखि हाट खण्डमा १४ करोडमा कालोपत्रे गर्न पहिलो चरणको ठेक्का सम्झौताको तयारी भएको छ।
दार्चुलाको खलंगा—खार—पारीबगर—खण्डेश्वरी सडक पनि प्रदेश गौरवको आयोजना हो। यो सडकमा पनि अहिले १८ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ। तेखलंगादेखि खार खण्डमा ९ किलोमिटर पारीबगरदेखि खण्डेश्वरी खण्डमा ९ किलोमिटर कालोपत्रेका लागि ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ। गत माघदेखि मात्रै प्रदेशका गौरवका आयोजनामा प्रक्रियाको काम सुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए।
बाजुराको खप्तड मार्तडी सडक ९सिंगडा–काँडा–जयवाग्यश्वरी–गैरीखाद–डोगडी –आटिचौर–मार्तडी सडक खण्डको ६ करोड २९ लाखमा थोदुङ जाग्रिती निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ। २०७७ जेठको पहिलो हप्ता मात्रै ठेक्का गालेको सडक कहिले बन्ने हो थाहा छैन।
दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताए। अछाममा रहेको पूर्वाधार विकास कार्यालयले अछाम र बाजुरा जिल्ला हेर्छ।
डडेल्धुराको दैजी–जोगबुडा–पोखरा–ढुंगाड–बझाङ सडक पनि प्रदेश सरकारले गौरवको आयोजनामा राखेको छ। यसमा पोखरा–बेलापुर खण्ड, सलौन–चिरकिटे खण्ड, जोगबुडा–गाईबादे खण्ड र गाईबादे–लिप्ना खण्ड समेटिएका छन्।
जोगबुडा–गाईबादे खण्डको ७ करोड १९ लाखमा ठेक्का भएबाहेक अरु सडक ठेक्का नै लागेको छैन। अहिले केही सडकका लागि टेन्डर आह्वान गरिएको र त्यसको प्राविधिक प्रस्ताव मूल्यांकन भइरहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए।
कैलालीको पनि भजनी–खीमडी–ठूलीगाड सडक आयोजना प्रदेश गौरवको आयोजना हो। यो सडक भजनीको छोटी भन्सारबाट सुरु भएर लालबोझी, भजनी, जोशीपुर, फल्लेविसौन, सल्लेरी, रक्सा, कोल्तडी हुँुदै खिमडी जोडिनेछ।
कैलालीको मध्य उत्तरी क्षेत्र भएर निर्माण हुने यो सडकले कैलालीको उत्तरी क्षेत्र र डोटीको दक्षिणी क्षेत्रको विकासमा टेवा पुर्याउने मोहन्याल गाउँपालिकाका मोहन रावलले बताए। यो सडकको एउटा मात्र खण्डको तीन करोडमा ठेक्का भएको छ भने अरु ठेक्का लागेको छैन।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार नौ वटा प्रादेशिक सडकका लागि लागि चालु आर्थिक वर्ष मात्रै ४२ करोड बजेट विनियोजन गरिएको छ।यस आर्थिक वर्ष भित्र सडकको ठेक्का सम्झौता गरी निर्माण सुरु गर्ने यातायात पूर्वाधार निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टको दाबी छ।
आर्थिक वर्ष २०७६र०७७ मा प्रदेश सरकारले गौरवका आयोजना घोषणा गरे पनि काम हुन सकेन। पहिलो वर्ष प्राविधिक कार्य आगाडि बढाएको बताउँदै प्रमुख प्रेमदत्त भट्टले भने, ‘पहिलो वर्ष प्रदेश सरकारले बजेट पनि थोरै छुट्याएकाले प्रविधिक काम मात्रै भएको हो।’
‘प्रदेश सरकार कमिसन र स्वार्थका लागि मात्र काम गर्ने देखिएकाले प्रदेशका योजना अलपत्रमा छन्’, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा।रणबहादुर रावलले भने, ‘प्रदेश सरकार गठन भएको ३ वर्ष बितिसक्दासमेत प्रदेशका ठूलो योजना अगाडि बढ्न नकसक्नु लज्जाको विषय भएको छ।’
डोटीमा पनि सहजपुर–बोगटान सडक प्रदेश गौरवको आयोजना हो। यसले डोटीको आधा भूभागका जनतालाई यातायातको पहुँचमा पुग्छ। सहजपुरदेखि झण्डै ५० किलोमिटरमा संघीय सरकारले सडक निर्माण गरिरहेको भए पनि प्रदेश सरकारले त्यसभन्दा अगाडिको सडक आफै बनाउने भन्दै प्रदेश गौरवको आयोजनामा राखेको हो।
रानागाउँ–वायल खण्ड, छिडिखान अत्तरकाँडा खण्ड र वायल–गुगडा खण्ड गण्ड गरी तीन वटा सडक प्याकेजको दुई वटा ठेक्का प्रक्रियामा छन्। रानागाउँ–वायल खण्ड र छिडिखान अत्तरकाँडा खण्डको ठेक्का प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए।
बझाङको पातिहाल्ला–तल्कोट–साइपाल–हुल्ला सडकलाई पनि प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा राखेको छ। पूर्वाधार कार्यालय बझाङका प्रमुख नवराज रावलका अनुसार एक सय किलोमिटरको यस सडको पहिलो चरणमा १४ किलोमिटर निर्माण हुनेछ।
यो सडकको ठेक्कासमेत भइसकेको छ। जडालदेखि पानकोटसम्म निर्माण हुने सडकका लागि काठमाडौं भानेश्वरमा रहेको थोदोङ जागृति जेविले ठेक्कामा लिएको छ। ९ करोड ५७ लाखमा दुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेक्कामा लिएको प्रमुख रावलले जानकारी दिए। ‘चालु आर्थिक वर्ष प्रदेश सरकाले १० करोड रुपैयाँ बजेट छुट्याएको छ।
कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्ड पनि प्रदेश गौरवको आयोजना हो। यसको पनि ठेक्का प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। यातायात पूर्वाधार निर्देशनालयले, यस वर्षको ४२ करोडको बजेट कोरोनाका कारण कार्यान्वयन हुन नसकेको जनाएको छ। निर्देशनालयले आगामी आर्थिक वर्षका लागि प्रदेश गौरवका आयोजना निर्माण गर्न ८८ करोड माग गरेको छ।
– अन्नपुर्ण दैनिक
FACEBOOK COMMENTS