काठमाडौं, वैशाख २२ – कोभिड–१९ संक्रमितको उपचार गरिरहेका निजी तथा सरकारी अस्पतालहरूले बेड थप्न थालेका छन् । दोस्रो लहरको संक्रमण तीब्र रूपमा फैलिएसंगै सरकारी तथा निजी अस्पतालहरूले संक्रमितहरूको उपचार गर्न बेड थप गर्न लागेका हुन् ।
प्रदेश राजधानी विराटनगरमा रहेको विराट टिचिङ्ग हस्पिटलले ४० बेडसंक्रमितको उपचारमा थप गर्ने भएको छ । यसअघि विराटले १२० बेडको कोभिड अस्पताल सञ्चालन गरेको थियो । अहिले त्यहाँका सबै बेड भरिएपछि थप गर्न लागेको अस्पतालले जनाएको छ । अस्पतालले अक्सिजनसहितको ४० बेड थपगरी बुधबारदेखि पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेको कोभिड अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । उनकाअनुसार अस्पतालमा अहिले आइसीयूमा ७ जनासहित १२५ संक्रमितको उपचार भइरहेको छ ।
यसैगरी विराटनगरको अर्को अस्पताल नोबेल मेडिकल कलेजले सञ्चालनमा ल्याएको कोभिड अस्पताल पनि भरिएको छ । १ सय बेडको अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । विरामीको चाप बढेकाले बेडको संख्या थप्ने तयारीमा भइहेको दाहालले बताए ।
प्रदेश १ सरकारले विराटनगरमा सञ्चालनमा ल्याएको कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन आवश्यक पर्ने गम्भीर खालका बिरामी मात्र भर्ना लिने गरिएको छ । ९६ बेडको अस्पतालमा ४३ जना बिरामी भर्ना भएका छन् । अस्पतालमा २१ वटा भेन्टिलेरसहितको आइसीयू र ८३ वटा अक्सिजनसहितको बेड छन् । अस्पतालमा १६ जनाको आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालका प्रमुख बैजनाथ साहले जानकारी दिए । २७ जनाको भने एचडीयूमा उपचार भइहरको छ । यसअघि सोही स्थानमा सञ्चालित ८० बेडको कोरोना उपचार केन्द्रको ब्लक भने ममर्तका लागि भन्दै प्रदेश सरकारले बन्द गरेको छ ।
संक्रमितको संख्या बढदै गएकोले प्रदेश १ सरकारले ८० बेडको कोरोना उपचार केन्द्र पनि अक्सिजनसहितको अस्पतालमा ल्याउने तयारी गरेको छ । यसैगरी विपी कोइराला विज्ञान प्रतिष्ठानमा १५० बेडको कोभिड अस्पताल सञ्चालनमा छ । सुनसरीको इनरुवा जिल्ला अस्पतालमा ३० बेड सञ्चालनको तयारी गरीएको छ ।
FACEBOOK COMMENTS