काठमाडौं, भदौ ६ – प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ सय नजिक पुगेको छ। ३८ महिला र ५१ पुरुष गरेर शुक्रबार ८९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएपछि संख्या दुई हजार पाँच सय नजिक पुगेको हो। हालसम्म प्रदेशमा दुई हजार चार सय ८६ जनामा संक्रमण पुष्टि भइसकेको छ।
नयाँ थपिएका संक्रमितमध्ये मोरङका ४४, सुनसरीका २९, झापाका सात, इलामका चार, पाँचथर र उदयपुरमा एक÷एक र प्रदेश १ बाहिरका तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ को राजधानी रहेको मोरङको विराटनगर महानगरपालिकामा २९ जना थपिएका छन्। नयाँ संक्रमितमा १३ महिला र १६ पुरुष छन्।
मोरङको कटहरीका पाँच महिला र एक पुरुष, सुन्दरहरैँचाका तीन महिला र तीन पुरुष , धनपालथानका दुई र सुनवर्षीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको दुहवीका दुई महिला र १२ पुरुष, इटहरीका एक महिला र चार पुरुष, बर्जुका दुई महिला र दुई पुरुष, देवानगञ्जका एक पुरुष, कोशी गाउँपालिकाका एक पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रका एक/एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
झापाको मेचीनगरका तीन महिला र एक पुरुष, बिर्तामोडका एक महिला र एक पुरुष, दमकका एक पुरुष, इलामको सन्दकपुरका दुई महिला दुई पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ बाहिरका सर्लाहीका दुई महिला र सिरहाका एक पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा शुक्रबार ६९ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगरा सुनसरीबाट १३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका तीन र धनकुटाका एक जना रहेका छन्।
FACEBOOK COMMENTS