साउन ३२, आइतवार – विराटनगर महानगरपालिकामा आइतबार अहिलेसम्मकै धेरै संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । महानगरमा पहिलो पटक एकै दिन ८६ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको महानगरमा यो संख्या एकै दिन भेटिएको अहिलेसम्मकै उच्च हो ।
विराटनगरमा ८६ जनासँगै प्रदेश १ मा आइतबार एक सय तीन जना नयाँ संक्रमित भेटिएका छन् । थपिएकमा ६९ पुरुष र ३४ महिला छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताकाअनुसार मोरङमा ९२, खोटाङमा छ, सुनसरीमा दुई, इलाममा एक र प्रदेश १ बाहिरका दुई जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।
मोरङको विराटनगर महानगरमा भेटिएका नयाँ ८६ संक्रमितमध्ये ५४ पुरुष र ३२ महिला छन् । विराटनगरमा मात्रै हालसम्म संक्रमित संख्या पाँच सय ६६ पुगेको छ । त्यस बाहेक मोरङको बूढीगंगामा तीन, धनपालथानमा दुई र कटहरीमा एक पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा छ पुरुष, सुनसरीको इटहरीमा एक पुरुष, दुहवीमा एक महिला, इलामको देउमाइमा एक पुरुष, बाराका एक पुरुष र सिरहाकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या हालसम्म दुई हजार १० पुगेको छ ।
FACEBOOK COMMENTS