काठमाडौँ, साउन ३१ – प्रदेश १ मा शनिबार ८६ जनामा कोरोना संक्रमण देखिएको छ। सबैभन्दा बढी मोरङका ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संक्रमितमध्ये ५४ पुरुष र ३२ महिला रहेको छन्। संक्रमण देखिएका मध्ये ४० जना मात्रै विराटनगरका हुन्। जसमा २१ पुरुष र १९ महिला रहेका छन्। यस्तै मोरङको रंगेलीमा ९, धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १-१ जनालाई संक्रमण पुष्टि भएको छ।
शनिबार थपिने संक्रमितमा सुनसरीमा १७ पुरुष र २ महिला गरी १९ जना छन्। त्यसमध्ये सुनसरीको धरानमा ९ पुरुष र २ महिला गरी ११ जना, रामधुनीमा ५ पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
अन्य जिल्लामा ओखलढुङ्गा, तेह्रथुम र उदयपुरमा १-१ जनामा संक्रमण देखिएको छ। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७ पुगेको छ। अहिलेसम्म प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। जसमध्ये ९ जना मोरङका हुन् भने ४ जना प्रदेश नं. २ को रहेको जनाइएको छ।
FACEBOOK COMMENTS