काठमाडौं भदौ २२, कोभिडले निजी क्षेत्रमा परेको असर र अब सरकारले गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुसँग वालुवाटारमा सुझाव लिएको छ । भने उद्योग ब्यवसायीहरुले दर्जनौं समस्याहरु प्रधान मन्त्री के.पि ओलि समक्ष राखेका छन् ।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु छलफलमा सहभागी थिए ।
महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघका उपाध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष सतिश मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल लगायतका उद्योगी व्यवसायी सहभागी थिए ।
खतिवडा गए पनि अब आफैं निजी क्षेत्रका गुनासाहरु सुन्ने भन्दै प्रधानमन्त्रीले व्यवसायीहरुलाई ‘लु बोल्नुस’ भनेका थिए ।
प्रधानमन्त्रीले बोलाएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले सधैं बन्दाबन्दी नगर्न सुझाव दिएका छन् । उनीहरुले बन्दाबन्दी नै समाधान नभएको भन्दै अब स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर उद्योग(व्यवसायहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।
बोल्ने क्रममा सबै उद्योगी व्यवसायीहरुले गुनासै गुनासा सुनाए । बैठकमा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लामो समय लकडाउन हुँदा उद्योग(व्यवसाय निकै अप्ठेरो अवस्थामा परेको भन्दै उनले निजी क्षेत्रका लागि राज्यको अहिले सहयोग चाहिएको बताए ।
चैतदेखि लगातार ४ महिना र त्यसपछि केही समय खुलेको र पुनः पहिलेको भन्दा कडा बन्दाबन्दी हुँदा व्यवसायिक प्रतिष्ठानहरुलाई श्रमिक तथा मजदूरको तलक भुक्तानी गर्न पनि समस्या परिरहेको श्रेष्ठले बताए । यस्तो अवस्थामा कर तिर्न पनि गाह्रो परेको भन्दै उनले २ महिना कर तिर्ने म्याद थप गर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीसँग मागसमेत गरे ।
कोरोना नियन्त्रणका लागि बन्दाबन्दी नै उपाय नभएको भन्दै अब विभिन्न चरण गरेर खोल्नुपर्ने श्रेष्ठले सरकारलाई सुझाव दिएका छन् । पसलहरु पनि निश्चित समय तोकेर कुन किसिमको पसल कुन समयमा खोल्ने भन्ने नीति बनाउनुपर्ने उनले बताए । केही समय जोरविजोर लागू गरेर भए पनि बन्दाबन्दी भने खुलाउनै पर्ने श्रेष्ठको सुझाव थियो । उनले काठमाडौं उपत्यकालाई जोगाउन नाकामा कडाइ गर्नुपर्ने बताए ।
त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले उद्योगहरुलाई सहज वातावरणमा चल्न सक्ने अवस्था सरकारले बनाउनुपर्ने बताए । कोभिडका कारण निकै अप्ठेरो अवस्था गुजारिरहेका उद्योगहरुलाई सरकारले केही सहुलियतका योजनाहरु ल्याउनुपर्ने उनको सुझाव थियो । उनले पनि उद्योगधन्दाहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भन्दै यसका विषयमा प्रधानमन्त्रीले सोच्नुपर्ने बताएको बैठकमा सहभागी एक उद्योगीले अनलाइनखबरलाई जानकारी दिए ।
परिसंघका तर्फबाट निवर्तमान अध्यक्ष हरिभक्त शर्माले पनि बोलेका थिए । उनले पनि अहिले निकै अप्ठेरो अवस्था सिर्जना भएको भन्दै कसरी हुन्छ, उद्योग व्यवसाय बचाउनुपर्ने धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघकातर्फबाट अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छाले पनि भनाइ राखेका थिए । अध्यक्ष राणाले बन्दाबन्दी नै समाधान नभएको भन्दै उद्योग व्यवसायमा देखिएका समस्याहरु चाडै समाधान हुनुपर्ने बताइन् । वरिष्ठ उपाध्यक्ष गोल्छाले खासगरी साना तथा मझौला उद्योगहरुले अहिले धेरै समस्या खेपिरहेको प्रधानमन्त्रीलाई सुनाए ।
कोभिड अन्त्यका लागि एकजुट बनौँ ः प्रधानमन्त्री
छलफलमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निजी क्षेत्र र सरकार एक भएर अघि बढ्नुपर्ने बताए । उनले सबैको सहयोग बिना चाँडै कोरोना अन्त्य गर्न नसकिने भन्दै यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।
प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा फस्न नदिने बताए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएउँदै कोभिड र उद्योगमा देखिएका समस्याहरु सँगै समाधान गर्दै अघि बढ्नुपर्ने भनाइ राखेका थिए ।
प्रधानमन्त्री ओलीले सरकारको ध्यान कर असुलीमा मात्रै होइन, निजी क्षेत्रको विकासमा पनि सरकार गम्भीर रहेको बताएका थिए । अहिले सरकारको मुख्य ध्यान नागरिकको जीवन बचाउन केन्द्रित भएको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS