काठमाडौं, जेठ २२ – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनसमक्ष कोरोविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् । बीबीसी विश्व सेवालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतका लागि गोर्खाली सैनिकले गरेको योगदानको महत्व बुझेर पनि बेलायतले नेपाललाई खोप सहायता गर्ने विश्वास व्यक्त गरेका छन् ।
बेलायतसँग सदियौं पुरानो सम्बन्ध रहिआएकाले बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
आफ्नो ज्यानलाई जोखिममा राख्दै गोर्खालीले बेलायतको सेवा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपदमा परेका नेपालीलाई बेलायतले सहायता दिने आशा व्यक्त गरेका छन् । नेपाल बेलायतको पुरानो मित्र भएको नाताले पनि आफूले सिधै आग्रह गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स संयन्त्रलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको र नेपालले त्यहीअन्तर्गत खोप सहायता प्राप्त गर्ने बताएका छन् । यो वर्षभित्र नेपालले खोप प्राप्त गर्ने बेलायती विदेश मन्त्रालयका प्रवक्ताको भनाइ छ ।
FACEBOOK COMMENTS