काठमाडौं, चैत ३ – प्रधानमन्त्री ओलीलाई बर्माको सैनिक शासकको संज्ञा दिँदै नेता पौडेलले नेपालमा पनि त्यस्तै शासन चलाउन ओली उद्धत रहेको आरोप लगाए । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजित पत्रकार सम्मान कार्यक्रममा नेता पौडेलले मुलुक चरम सङ्कटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता र रहस्यमय मौनताप्रति आफूलाई आशङ्का लागेको समेत बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकास नपाउने बताएका छन् । उनले ओलीलाई फाल्नु नै अहिलेको उत्तम विकल्प भएको भन्दै यति गरिए मुलुकले सही दिशा लिने स्पष्ट पारे ।
सभापति देउवाको मौनताले नै मुलुक अनिर्णयको बन्दी बनेको उनको आरोप छ । सभापति देउवाको ढुलमुले पाराले झनै समस्या निम्त्याउने भन्दै उनले अब कांग्रेस दोधारमा नबसी दह्रोसँग निर्णय लिएर कांग्रेसले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । अब सबै पार्टी एकै ठाउँमा आएर केपी ओलीको विकल्प खोज्नुपर्ने नेता पौडेलको जोड छ । साथै नेता पौडेलले मुलुकलाई सही ढंगले चलाउने पार्टी कांग्रेसबाहेक अन्य हुन सक्ने ठोकुवा समेत गरे ।
नेता पौडेलले वर्मामा सैनिक शासकले सत्ता कब्जा गरेर मानव अधिकार उलङ्घनका घटना घटाएकोप्रति आपत्ति प्रकट समेत गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता भोला बराल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सम्मानित पत्रकार हीमनीधि लौडारीलगायतले बोलेका थिए ।
युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।
