काठमाडौँ, भाद्र १ – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार बालुवाटारमा भएको छलफलमा संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेको जनाइएको छ ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीसँगको भेटमा लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा पनि किन सुरक्षित स्थानमा नसारिएको भनेर देउवाले प्रश्न गरेका थिए । देउवाको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँबासीले दस दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’ देउवाले मुलुकका विभिन्न भागमा पनि बाढी पहिरोले क्षति पुर्याए पनि सरकारको भूमिका सन्तोषजनक नरहेको उल्लेख गर्दै व्यवस्थित र प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोप लगाएका छन् । आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ गरेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा ध्यान पुर्याउन पनि प्रधानमन्त्रीलाई देउवाले आग्रह गरेका छन् । विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएका समस्या समाधानका लागि तत्काल संवाद थाल्न पनि देउवाले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । भेटमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसमेत सहभागी थिए ।
FACEBOOK COMMENTS