तेल अभिभ, १९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले ईजरायलका राष्ट्रपति रेउभेन रेभलिनसँग टेलिफोन सम्वाद गरेका छन् । प्रधानमन्त्री ओलीले हाल विभिन्न मुलुकका सरकार एवम् राष्ट्र प्रमुखहरुसँग टेलिफोन संवाद गर्दै आएका छन् । र सोही क्रममा इजरायल स्थित दूतावास एवम राजदुत अन्जान शाक्यको पहलमा ओलीले ईजरायली राष्ट्रपतिसँग संवाद गरेका हुन ।
नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे उक्त वार्तालाप भएको दुतावासले जनाएको छ । संवादका क्रममा कोरोना भाइरसको संकटका कारण सिर्जित परिस्थिति, यस विश्वव्यापी समस्यासँग जुध्नका लागि साझा प्रयास गर्ने प्रतिवद्धता लगायत द्विपक्षीय सम्बन्धका विविध विषयहरु माथि छलफल भएको थियो । दुतावासले छलफलका क्रममा कुराकानीलाई बुँदागत रुपमा प्रस्तुत्त गरेको छ ।
दुतावासले प्रस्तुत गरेका बुँदाहरु यस अनुसार छन्
अति व्यस्तताका बाबजुद आफूलाई टेलिफोन सम्पर्क गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुहुँदै ईजरायलको ७२ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले आफ्नो तथा नेपालका राष्ट्रपतिको तर्फबाट ईजरायलका राष्ट्रपति, प्रधानमन्त्री तथा ईजरायली जनतालाई शुभकामना दिनुभयो।
नेपाल र ईजरायल बिच सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएको थियो। तसर्थ ६० औं वर्षगाँठको उपलक्ष्यमा ईजरायललाई बधाई दिँदै प्रधानमन्त्रीले आगामी दिनमा आपसी सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गर्नुभयो।
ईजरायलमा पनि ठूलो संख्यामा मानिसहरू संक्रमित भएका तथा सैयौं व्यक्तिको निधन भएकोप्रति प्रधानमन्त्रीले नेपाल सरकार र जनताका तर्फबाट एवं आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभयो।
COVID-19 को Pandemic प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्षम भएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले कोरोना बिरूद्ध लड्नका लागि ईजरायल सरकारले चालेका कदमहरूको प्रशंसा गर्नुभयो।
ईजरायली लगायत नेपालमा रहेका सबै विदेशी नागरिकहरूलाई नेपाल सरकारले हेरचाह गरिरहेको बताउँदै प्रधानमन्त्रीले ईजरायलले चाहेमा नेपालमा अड्किएका थोरै इजरायलीहरुलाई स्वदेश फिर्ता गराउन नेपाल सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो। ईजरायल सरकारले सबै (ईजरायलीका साथै विदेशी नागरिक समेत) को लागि परीक्षण र उपचार सुविधाहरुको व्यवस्था गरेको तथा सबैलाई समान उपचार सुविधा उपलब्ध गराएकोमा प्रधानमन्त्रीले ईजरायल सरकारको कदमको कदर गर्नुभयो। यी कठिन दिनहरुमा ईजरायली सरकारले नेपालीहरुलाई सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै त्यहाँस्थित नेपाली समुदायले ईजरायली सरकारबाट आगामी दिनमा समेत संरक्षण र समर्थन प्राप्त गरिरहने विश्वास व्यक्त गर्नुभयो। प्रत्युत्तरमा महामहिम राष्ट्रपतिले नेपालीहरु इजरायलमा आफन्तसरह बसिरहेको हुँदा उनीहरुको सुरक्षाको बारेमा निश्चिन्त रहन आग्रह गर्नुभयो।
विशेषगरी कृषि, पर्यटन, लगानी, व्यापार तथा प्रविधि हस्तान्तरणको क्षेत्रमा सहकार्यको बढी सम्भावना भएको औंल्याउँदै प्रधानमन्त्रीले सम्बन्धलाई थप उचाइमा पुर्याउनका लागि उच्चस्तरीय भ्रमणहरुको आवश्यकतामा जोड दिनुभयो। साथै, वहाँले सीधा हवाई सम्पर्क स्थापित गर्न सकिएमा सम्बन्धलाई थप सघन तुल्याउन निसन्देहः मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्रीले कोरोनाको अन्त्यसँगै ईजरायलका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो दिनुभएको छ।
FACEBOOK COMMENTS