काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् ।
‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने । उनले विकासभन्दा अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा असन्तुष्टि जनाए । विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसद्मा आएको भए आफूलाई खुशी लाग्ने बताए ।
आइतबारको प्रतिनिधिसभा बैठकमा ओली सहभागी भएका थिएनन् । नेकपा एमालेको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय दलको उपनेता सुवास नेम्वाङले धारणा राख्ने अनुमान गरेकामा उनलाई अप्ठेरो परेको हुन सक्ने बताए । संविधानमा भएको धारा ७६ (५) को व्यवस्थाबारे बोल्न अप्ठेरो लागेर नेम्वाङले धारणा नराखेको देउवाले टिप्पणी गरे ।
देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए । ओली प्रधानमन्त्री हुँदा सधैं आफू बैठकमा आएको बताउँदै प्रधानमन्त्री देउवाले के कारणले नआएको हो थाहा नभएको बताए ।
‘उहाँ (ओली) बोल्दा म सधैं यहाँ आएको छु,’ देउवाले भने, ‘पहिले मनमोहन अधिकारी म बोल्दा पनि आउनुहुन्थ्यो उहाँ बोल्दा पनि म दौडेर आउँथेँ ।’ ओली प्रतिनिधि सभा भवन गए पनि बैठकमा अनुपस्थित थिए । उनको जवाफ सकिएपछि भने ओली बैठक कक्षमा प्रवेश गरेका थिए ।
देउवाले विश्वासको प्रस्तावका पक्षमा मत दिएका सबै दल तथा नेतालाई धन्यवाद दिए । उनले प्रतिनिधि सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बोल्ने ठाने पनि नबोलेको बताए । प्रधानमन्त्रीले आफूले विपक्षलाई आक्रमण गर्ने पक्षमा नरहेको पनि बताए ।
एमाले सांसद प्रदीप ज्ञवालीतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले ‘धेरै आक्रमण गर्नुहोला भन्ठानेको गर्नुभएन,’ भनेका छन् । साथै संविधानसभाका पूर्वअध्यक्ष रहेका नेम्वाङले संविधानको धारा ७६ को ५ बारे बोल्ने अपेक्षा आफूले राखे पनि नेम्वाङले नबोलेको प्रधानमन्त्री देउवाको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS