काठमाडौं, जेठ ८ – एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमको प्रतिवादन गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । विद्यमान व्यवस्थामाथि नै ‘कू’ गर्ने उद्देश्यका साथ निर्वाचनको मिति घोषणा गरिएको भन्दै उनले शुक्रबार राति भएका राजनीतिक घटनाप्रति भर्त्सना गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आआफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले षडयन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि प्रतिनिधिसभाको चिरहरण भएको भन्दै प्रतिगमन दोहोरिएको उल्लेख गरेका छन् ।
घोषित निर्वाचनलाई संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्य भएको भएको भन्दै नेता नेपालले लेखेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।’
उनले अगाडि लेखेका छन्, ‘यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’
FACEBOOK COMMENTS