११ कार्तिक, उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’प्रमुख सामन्त गोयलको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा भएको बताएका छन्।
रअ प्रमुख र प्रधानमन्त्री केपी ओलीको भेटको विषयमा गलत प्रचार भएकोप्रति आक्रोश व्यक्त भन्दै पोखरेलले यस्तो बताएका हुन्।
‘भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए’, मन्त्री पोखरेलले भनेका छन्।
प्रधानमन्त्री र रअ प्रमुखको भेटको गलत प्रचार भएको भन्दै उनले गोयल परराष्ट्र मन्त्रालयको स्वीकृतिमा नेपाल आएको दाबी गरेका छन्। मन्त्री पोखरेलले भारतीय दूतावासमार्फत् गोयललाई नेपालमा औपचारिक निम्ताका लागि पहल भएको उल्लेख गरेका हुन्।
‘नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन्’, मन्त्री पोखरेलले थप प्रष्ट पार्दै भनेका छन्, ‘काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो।’
मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग गोयलले गोप्य वार्ता नगरेको र त्यो टिपोट प्रधानमन्त्रीका प्रतिनिधिसँगै परराष्ट्र मन्त्रालयसँग औपचारिक रुपमा भएको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो रु बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिले जिम्मेवारीपूर्वक सुनेका छन्– टिपोट गरेका छन्’, पोखरेलले थप भनेका छन्, ‘परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ।’
गोयलसँगको भेटमा नेपाल र भारतकाबीच केही समययता बनेको असहज परिस्थितिमा छलफल केन्द्रित भएको पोखरेलको भनाइ छ। भेटमा प्रधानमन्त्री ओलीले सीमाको विषयमा नेपालले राख्दै आएका अडाबारे पुनः जानकारी गराएको उनको दाबी छ।
प्रधानमन्त्री ओलीले नेपाल र भारत सीमा विवादका विषयमा ऐतिहासिक प्रमाणका आधारमा समस्याको समाधान गर्नुपर्ने धारणा राखेको उनको भनाइ छ। गोयलसँगको भेटमा नेपाल र भारतका बीचमा देखिएका समस्याको समाधान संवाद नै भएको निष्कर्षमा दुवै पक्ष पुगेको उनको भनाइ छ।
‘भेटमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो। त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो’, पोखरेलले भनेका छन्, ‘वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो। त्यहाँ गोयलका तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो। नेपाल–भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो।’
FACEBOOK COMMENTS