काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जिल्लामा हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेशकमिटको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिनुभएको हो ।
सिन्धुपाल्चोकको विपत्ति मानवीय संकट भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस कुरामा कसैले राजननीति गर्नु हुन्न मानवीय हिसाबमै जानुपर्छ’ । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको ओलीले बताउनुभयो । साथै उहाँले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नुसमेत दिनुभयो । यस्ता विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यस्ता ठाउँमा दाताहरु पुगेका छन्, उनीहरुलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ ।’
FACEBOOK COMMENTS