काठमाडौं, भदौ ३० – नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाई गरिएको छ। प्राधिकरणका कर्मचारीले मंगलबार घिसिङलाई बिदाई गरेका हुन्।
कार्यक्रममा बोलेका प्राधिकरणका कर्मचारीले कुलमानलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले कुलमानलाई बुद्धको मूर्ति मायाको चिनो उपहार दिएका छन्।
प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार कर्मचारीका तर्फबाट आज औपचारिक रूपमा घिसिङलाई बिदाई गरिएको हो।
उनको चार वर्षे कार्यकाल हिजो सकिएको थियो। बिदाई कार्यक्रममा केहिबेरमा घिसिङ बोल्ने कार्यक्रम पनि रहेको प्राधिकरणका एक कर्मचारीले बताए।


कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठे पनि हिजो बसेको मन्त्रिपरिषद बैठकमा ऊर्जा मन्त्रालयबाट प्रस्ताव नै गएको थिएन।
