काठमाडौं, भदौ ६ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको भएको छ । धरान १५ निवासी ६७ बर्षीय वृद्धको मध्याह्न सवा १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । सिकिस्त अवस्था भएर ती संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइहेको थियो भने हिजो (शुक्रबार) राती मात्र उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । ‘उहाँको अवस्था एकदमै सिकिस्त थियो, आज मध्याह्न सवा १२ बजे निधन भएको छ,’प्रवक्ता डा. निदेश सापकोटाले भने ।
मृतकलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास फेर्न समस्या र ज्वरो आएको थियो । उनी उच्च रक्तचापको दीर्घ रोगी पनि भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । सिकिस्त अवस्था हुदै गएपछि ३ दिनदेखि प्लाज्मा दाता खोजी गरेर हिजो शुक्रबार राती मृतकलाई प्लाज्मा दिइएको थियो । उनी वीपीमा प्लाज्मा थेरापी उपचार गरिएका दोस्रो संक्रमित व्यक्ति हुन् । यसअघि धरान ८ का एक व्यक्तिलाई पनि प्लाज्मा दिइएको थियो । उनको भने स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।
प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख एवं प्लाज्मा थेरापी उपचारको लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिका सदस्य प्रा।डा।सञ्जिव शर्माले मृतक सिकिस्त अवस्था भएर नै प्लाज्मा थेरापी गरिएको बताए । ‘सामान्य विरामीलाई प्लाज्मा थेरापी गरिने होइन, सिकिस्त विरामीलाई नै दिइने हो । उहाँ पनि भेन्टिलेटरमा हुनुहुन्थ्यो,’डा.शर्माले भने,‘उहाँको निधन भयो ।’
मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको प्रवक्ता डा।सापकोटाले जानकारी दिए । धरानमा कोरोना संक्रमण पुष्टि भएको व्यक्तिको यो दोस्रो मृत्यु हो । यसअघि पनि धरान १५ की कोरोना पोजेटिभ वृद्धाको पनि मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS