काठमाडौं, पुस २४ – अमेरिकाको मायामी शहरमा कोरोनाविरुद्ध फाइजरको खोप लगाएका डाक्टर ग्रेगरी माइकलको मृत्यु भएको छ । उनकी पत्नी हेदी नेकलम्यानले खोप लगाउनुअघि पति स्वस्थ र सक्रिय रहेको बताइन् । खोप लगाउनुअघि डा माइकलको कुनै रोग पनि नरहेको उनले जानकारी दिइन् । खोप लगाएपछि डा माइकलको रगतमा असामान्य अवस्था देखिएको उनको भनाइ छ ।
खोप लगाएको १६ दिनमा डाक्टरको मृत्यु भएको हो । आइतवार अचानक हृदयघात भएर उनको ज्यान गएको नेकलम्यानले बताइन् । उनले भनिन्, ‘खोप लगाएपछि नै डा माइकलको मृत्यु भएको हो । यसको अर्को कुनै व्याख्या गर्न मिल्दैन ।’
उनले थपिन्, ‘उहाँ पूरै स्वस्थ हुनुहुन्थ्यो । धूम्रपान गर्नुहुन्नथियो । कहिलेकाहीँ मात्र रक्सी पिउनुहुन्थ्यो । व्यायाम गर्नुहुन्थ्यो र समुद्रमा पौडी खेल्नुहुन्थ्यो । उहाँको सबै स्वास्थ्य परीक्षण गरेपछि बल्ल खोप लगाइएको हो । स्वास्थ्य परीक्षणमा कुनै गडबडी देखिएको थिएन ।’
फाइजर कम्पनीले डा माइकलको असामान्य मृत्युको जानकारी आफूहरूलाई रहेको र अनुसन्धान गरिरहेको बतायो । प्रवक्ताले बताएअनुसार, डा माइकललाई तत्कालै कुनै साइड इफेक्ट देखिएको थिएन ।
तर पत्नी नेकलम्यानका अनुसार, खोप लगाएको तीन दिनपछि नुहाउँदा हात र गोडामा रगतको दाग देखिएको थियो । उनले काम गर्ने माउन्ट सिनाई मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण गर्दा प्लेटलेटको कमी देखिएको थियो ।
FACEBOOK COMMENTS