काठमाडौं, चैत १२ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वअध्यक्ष सेप ब्लाटरलाई २०२८ सम्म फुटबलसम्बन्धी काम गर्न नपाउने गरी प्रतिबन्ध थप गरेको छ। त्यस्तै, फिफाका पूर्व महासचिव जिरोम वाल्केलाई पनि १० लाख ६८ हजार डलरसहित पूर्वअध्यक्षलाई जति नै प्रतिबन्ध लगाइएको छ।
फिफाको नैतिकताको विभिन्न नियम उल्लंघन गरेको भन्दै फिफाले उसलाई प्रतिबन्ध लगाएको हो। अब उनीहरु दुवैको नयाँ प्रतिबन्ध पुरानो प्रतिबन्ध सकिएको मितिबाट सुरु हुनेछ। ८५ वर्षीय पूर्वअध्यक्ष ब्लाटरले निलम्बन २०२१ को अक्टोबरमा सकिँदै छ भने ६० वर्षीय वाल्केको प्रतिबन्ध २०२५ को अक्टोबरमा सकिने छ। नयाँ प्रतिबन्ध त्यो मितिबाट सुरु हुनेछ।
फिफाले जारी गरेका विज्ञप्तिमा लेखिएको छ, ‘ब्लाटर र वाल्केको अनुसन्धानमा धेरै क्षेत्र समेटिएका छन्। फिफाद्वारा आयोजिन प्रतियोगिताको बोनस पेमेन्टमा यो अनुसान्धान मुख्यतः केन्द्रित थियो। साथै फिफा मेनेजमेन्ट र कामदारबीच संशोधन र रोजगार सम्झौताको विस्तारमा पनि अनियमितता देखिएको छ।’
फिफाले गरेको अनुसन्धानको निष्कर्षमा ब्लाटरले २३ मिलियन स्विसफ्रांन्कको सबै पेश्की फछ्र्यौट नगरेको पाइएको छ। उनको यो अनियमितता २०१० देखि २०१४ सम्मको अवधिमा पाइएको हो।
यसअघि ब्लाटरलाई फिफाले सुरुमा ८ वर्षको प्रतिबन्ध लगाएको थियो। जसलाई पछि ६ वर्षमा घटाइएको थियो। उनले आफूलाई प्रतिबन्ध लगाएको विरोधमा गरेको अपिल पनि कोर्ट अफ अर्बिटेसन फर स्पोर्ट्स (कास)ले २०१६ मा अस्वीकृत गरिदएको थियो।

त्यस्तै वाल्केको १२ वर्षको प्रतिबन्धलाई फिफाले १० वर्षमा घटाएको थियो। उनको एक दशकको प्रतिवन्धविरुद्ध गरेको अपिललाई पनि कासले २०१८ मा अस्वीकृत गरिदिएको थियो। अहिले दुवैको पहिलो प्रतिबन्ध जारी छ।
