काठमाडौँ, असोज २४ – फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार सुरूवात गरेको छ। शनिबार विहान सकिएको खेलमा ब्राजिलले बोलिभियालाई ५-० गोलले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
ब्राजिलका लागि मार्किन्होसले १६ मिनेटमा पहिलो गोल गरे। उनले सिक्स यार्डमा प्राप्त अवसरलाई हेडमार्फत गोल गरे। मार्किन्होसलाई डानिलोले पास उपलब्ध गराएका थिए। ३० मिनेटमा रोबर्टो फिर्मिनोले ब्राजिलको अग्रता दोब्बर पारे। डिफेन्डर रेनाल लोडीको पासमा उनले सिक्स यार्डबाट सहज गोल गरे।
दोस्रो हाफ सुरु भएको चौथौ मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिलले अग्रता ३-० मा पुर्यो। यसपटक फिर्मिनोलाई गोल गर्न नेइमारले पास उपलब्ध गराए। ६८ मिनेटमा बोलिभियाका कारास्कोले आफ्नै पोस्टमा गोल गर्दा ब्राजिलको अग्रता ४-० मा पुग्यो।
ब्राजिल यतिमै रोकिएन। ७३ मिनेटमा फिलिप काउटिन्होले टिमका लागि पाँचौ गोल गर्न सफल भए। उनले पनि नेइमारको पासमा गोल गरे।
FACEBOOK COMMENTS