प्रदेश १ र ५ मा ३२ हजार ५ सय ४० घरधुरीको १० हजार ६ सय ३४.३३ हेक्टरमा प्रकोप
काठमाडौँ — प्रत्येक वर्षजसो यस वर्ष पनि प्रायस् जिल्लामा फैजी कीराको प्रकोप देखिएको छ । मुलुकभर करिब ४२ जिल्लामा यो कीराले समस्या पारिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । ‘गत वर्षको तुलनामा कीराको प्रकोप बढेको छ । मुलुकभर ४२ जिल्लामा पुगेको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘प्रदेश र जिल्लास्तरबाटै कीरा व्यवस्थापन गरिँदै छ ।’
मकै बालीमा फौजी कीरा संक्रमण बढेपछि प्लान्ट क्वोन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले सबै प्रदेशसँग विवरण मागेको थियो । तर प्रदेश १ र ५ बाहेक अन्य प्रदेशबाट विवरण आएको छैन । ‘१ र ५ बाट मात्रै विवरण प्राप्त भएको छ,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागार्इंले भने, ‘जिल्लाअनुुसार १५ देखि २० प्रतिशतसम्म मकै नष्ट भएको देखिन्छ ।’
प्रदेश १ मा १४ जिल्लाका ३२ हजार ५ सय ४० घरधुरी प्रभावित छन् । उक्त क्षेत्रमा मकैमा घोगा लागेको र वानस्पतिक अवस्थामा फैजी कीरा लागेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । ‘प्रदेश १ का सोलुखुम्बु, मोरङ, सुनसरी, भोजपुर, झापा, खोटाङ, तेह्रथुम, धनकुटा, इलाम, ताप्लेजुङ, पाँचथरलगायत १४ जिल्लामा करिब १ लाख २२ हजार ३ सय ९५ हेक्टरमा मकै बालीमध्ये १० हजार ६ सय ३४ हेक्टरमा प्रकोप देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसमा १५ प्रतिशत क्षति पुगेको छ ।’
प्रदेश ५ मा १० जिल्ला प्रभावित छन् । रुकुममा ८ हजार ७ सय २० हेक्टरमा लगाइएको मकै खेतीमा ८ प्रतिशत नोक्सानी भएको छ । रोल्पामा १४ हजार ५ सय ४५ हेक्टरमा १३ प्रतिशत, प्यूठानमा ६ हजार ७ सय हेक्टरमा लगाइएको खेतीमा ३० देखि ४० प्रतिशत र गुल्मीमा ४ हजार ३ सय १६ हेक्टर खेतीमा १५ प्रतिशत क्षति पुगेको छ ।
अर्घाखाँचीमा १६ हजार ५ सय हेक्टर मकै खेतीमा १५ देखि ४० प्रतिशत, पाल्पामा २ हजार ४ सय २० हेक्टर खेतीमा ४ देखि ५ प्रतिशत, कपिलवस्तुमा ३ सय ५० हेक्टरमा २ देखि ३ प्रतिशत, दाङमा ११ हजार ३ सय २५ हेक्टरमा ३० देखि ४० प्रतिशत, बाँकेमा २ हजार ४ सय ५० हेक्टरमा १५ देखि २० प्रतिशत, बर्दियामा ३ हजार ९ सय हेक्टरमा १५ देखि २० प्रतिशत क्षति पुगेको विवरणमा उल्लेख छ । जानकारका अनुसार फौजी कीरा रातमा मात्रै चल्छ । यो कीरा एक रातमा एक सय किलोमिटर उड्न सक्छ । गर्मी ठाउँमा यो बढी सक्रिय हुन्छ ।
करिब ८० प्रकारको घाँसबालीलाई नोक्सान पुर्याउँछ । सबैभन्दा बढी मकैलाई असर गर्छ । कृषि अनुसन्धान परिषद् ९नार्क० का प्रवक्ता मनोज ठाकुरका अनुसार बर्दियामा एकै किसानको ४ रोपनीमा लगाएको मकै फैजीले सखाप पारेको छ । विभिन्न जिल्लाबाट ‘किसान कल सेन्टर’मा थुप्रै गुनासो आएका छन् । तर, समाधान गर्ने उपायमा भने त्यति चासो देखिँदैन । सरकारले विषादी छर्नेसम्बन्धी विषयमा केहीलाई मात्र तालिम दिए पनि अन्य पद्धति अपनाएको छैन ।
FACEBOOK COMMENTS