काठमाण्डौँ — बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ ।
काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबैभन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् ।
नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार यहाँका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।
ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो ।
बंगलादेशको मेडिकल तथा डेन्टल काउन्सिल स्वास्थ्य मन्त्रालय तथा विश्वविद्यालय अनुदान आयोगसँग कुनै समस्या भएका वा अदालतमा कुनै मुद्दा भएका मेडिकल कलेज विश्वविद्यालयका आधारमा कालो सूची तयार पारिएको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS