काठमाडौं, माघ ६ – नेपाल सरकारले बंगलादेशबाट मल ल्याउने भएको छ। जिटुजी मार्फत उक्त मल ल्याउन लागिएको हो। करिब १५ दिनपछि मल प्याकेजिङको काम सुरू हुने कृषि सामाग्री कम्पनीका प्रवक्ता विष्णु पोखेरेलले जानकारी दिए।
‘बंगलादेशले सरकारी प्रक्रिया अघि बढाइरहेको छ। अबको १०/१५ दिनपछि प्याकेजिङ सुरू हुन थाल्छ,’ उनले भने, ‘प्याकेजिङ गर्दै नेपाल पठाइन्छ।’ मल भारतका विभिन्न नाका हुँदै नेपाल भित्रने छ।
उनका अनुसार कम्पनीले १० दिनअघि एलसी (परिपत्र) खोलेको थियो। सरकारले जिटुजीमार्फत् ५० हजार मेट्रिक टन मल ल्याइने भएको हो। सो परीमाणको मलले आगामी असारमा धानमा ‘टप ड्रेसिङ’ गर्नसम्म पुग्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले जानकारी दिए।
मन्त्रालयले आगामी दिनमा किसानलाई मलको अभाव नहुने गरी गृहकार्य गरिरहेको मन्त्रालयको दावी छ। ‘हामीले मल अभाव हुन नदिन रोड म्याप तयार गरिसकेका छौं, अब मलको अभाव हुँदैन,’ उनले भने।
बंगलादेशबाट युरिया मल ल्याउन नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच एक महिनाअघि सम्झौता भएको थियो। सम्झौता अनुसार बंगलादेशबाट नेपालले चार लटमा युरिया मल आयात गर्ने छ।
हाल कृषि सामाग्री कम्पनीसँग डिएपी ५ हजार १ सय, युरिया ३ हजार र पोटास ७ हजार ८ सय मेट्रिक टन मौज्दात छ।
FACEBOOK COMMENTS