काठमाण्डौं– माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् लैजान बङ्गलादेशलाई मार्ग प्रशस्त भएको छ ।
काठमाण्डौमा सम्पन्न नेपाल र बङ्गालदेशका ऊर्जा संयन्त्रको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् निर्यातसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ ।
गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गरेको बङ्गलादेश भ्रमणका क्रममा सो आयोजनाबाट विद्युत् खरीद गर्न बङ्गलादेश सरकार तयार रहेको जनाएको थियो ।
बङ्गलादेशले भारतीय कम्पनी एनभिभिएनबाट ५०० मेगावाट विद्युत् लैजाने भएको छ । तर प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न पाएको म्याद गत असोज २ गते नै सकिएको छ । म्याद थपका लागि जिएमआरले लगानी बोर्डमा आवेदन दिएको छ ।
नेपाल र बङ्गलादेश संयुक्तरुपमा विद्युत् व्यापारको सम्भावना खोज्न सहमत भएका छन् । यस्तै नेपालमा जलविद्युत् आयोजनाको विकासमा लगानीको सम्भावना, नेपाल र बङ्गलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावना र दुई देशबीच नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग गर्नेसम्बन्धी निर्णयसमेत बैठकले अनुमोदन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।
यस्तै द्विपक्षीय बैठकमा विद्युत् व्यापारको सम्भावना खोज्न दुवै देशले आफ्नो दीर्घकालीन योजनाको समीक्षा गर्ने र नेपालमा लगानीयोग्य सम्भावित आयोजनाको पहिचान गर्न एक प्राविधिक टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।
सो प्राविधिक टोलीमा रहने सदस्यको नामावली एक महीनाभित्र दुवै देशले एकअर्कालाई उपलब्ध गराउने भएका छन् । सो टोलीले आयोजनाको पहिचान तथा उत्पादन गर्ने विषयमा आवश्यक परामर्श र निर्णय गर्नेछ ।
यसैगरी नेपाल र बङ्गलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावनाबारे अध्ययन गर्न दुवै देशले तीन–तीन सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन गर्ने भएको छ ।
FACEBOOK COMMENTS