काठमाडौं, असोज २७ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको बताएका हुन् । उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्नलगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरेका छन् ।
तर विश्व बजारमै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक-दुईवटा वस्तुमा मूल्यवृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए । उनले भने, ‘‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहीं पनि समस्या आएको छैन । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्नलगायत दैनिकी वस्तुहरु हुन त्यसमा महँगी भन्ने छैन । अब एकाध वस्तुमा हुनु स्वभाविक हो । हिजो पनि हुन्थ्यो ।’’ अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उनले बताए ।
निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्त्वपूर्ण भएको मन्त्री भट्टले बताए । आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत मन्त्री भट्टले गरे । कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले बताए ।
FACEBOOK COMMENTS