काठमाडौं, जेठ २५ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन कोरोनाविरुद्धको खोपको उपलब्धतासँग जोडिएको बताएका छन् । सम्पूर्ण नेपाली नागरिकका लागि जतिसक्दो चाँडो खोपको सुनिश्चितता गरेर आर्थिक पुनः उत्थानमा लाग्नुपर्ने भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘सरकारले अबको केही महिनामै खोपको व्यस्थापन गर्न सक्नुपर्छ,’ नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘बजेट कार्यान्वयन चुनौती र समाधान’ विषयक अन्तरक्रियामा सहभागी अध्यक्ष गोल्छाले भने, ‘सबै नागरिकलाई छिटो भन्दा छिटो खोपको सुनिश्चितता गरेर आर्थिक पुनः उत्थानमा लाग्नु पर्छ ।’ समग्रमा बजेट स्वागतयोग्य भए पनि पूर्ण नभएको गोल्छालगायत निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ ।
गोल्छाले राष्ट्र बैंकले दिने वित्तीय सहुलियतले निजी क्षेत्रलाई तङ्ग्रिन ठूलो सहयोग पुग्ने र त्यसलाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने पनि बताएका छन् । वाणिज्य बैंकमा देखिएको अधिक तरलताको व्यवस्थापन गर्न सकियो भने राम्रो हुने उल्लेख गर्दै उनले सम्पत्ति अभिलेखीकरण र राजस्व न्यायाधीकरणबारे बजेटले नबोलेकामा चिन्ता व्यक्त गरेका छन् ।