काठमाडौं । आयात र निर्यात निरन्तर उकालो लाग्दा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ ।
यो चालू आर्थिक वर्ष २०७७-७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को जेठसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो जेठको तुलनामा आयात करिब २६ प्रतिशत र निर्यात ३८ प्रतिशतले बढदा ११ महिनामै बजेटको आकार भन्दा कुल व्यापार बढी हुन पुगेको हो । सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
कुल व्यापार मध्ये आयातको हिस्सा ९१.९४ प्रतिशत अर्थात १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । त्यस्तै निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ । जुन एक खर्ब २१ अर्ब २५ कर।ोड रुपैयाँ हुन आउँछ ।
कोभिड-१९ सङक्रमणको झन सङक्रामक दोस्रो लहरबीच पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारको लय उकालो नै लागि रहेको विभागको तथ्याङकले पुष्टि गर्छ ।
व्यापारसँग सम्बन्धित प्रायः सबै सूचक बढेको पनि विभागको तथ्याङकले देखाउँछ । कुल व्यापारमा निकै ठूलो हिस्सा रहेको आयातको वृद्धिदर कायम नै रहँदा व्यापार घाटा पनि फराकिलो हुँदै गएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS