गोरखा– साढे तीन वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गण्डकी प्रदेशका सांसदहरू लागि परेका छन् ।
रबर उद्योग सञ्चालनबारे अध्ययन गर्ने निर्णय गरेर बिहीबार संसदीय टोली गोरखा आइपुगेको छ ।
निरीक्षणका क्रममा आएका उनीहरूले कर्मचारी तथा मजदुरसँग उद्योगको विगत र वर्तमान अवस्थाका बारेमा बुझेका थिए ।
प्रतिदिन ठूलो टायर ३ सय र सानो टायर २५० थान उत्पादन गर्दै आएको नेपालकै एकमात्र रबर उद्योग ४२ महिनादेखि बन्द छ ।
२०४९ सालमा स्थापना भएको उद्योगको इतिहासमा एक वर्षमात्र नाफामा रहेको थियो । कमजोर ब्यवस्थापन, मजदुर तथा कर्मचारीको आन्दोलन, कच्चापदार्थ अभावलगायतका कारण उद्योग नियमित रूपमा चल्न सकेको थिएन ।
संसदीय समितिका सभापति कोइरालाले कमीकमजोरी सुधार गरे ब्यवस्थित रूपमा उद्योग सञ्चालन हुनसक्ने देखिएको जानकारी दिए । समितिले थप अध्ययन गरी प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछ । रबर उद्योग चलाउने कि बन्द गर्ने भन्नेबारे अध्ययन गर्न संघीय सरकारले पनि कार्यदल बनाएको हो ।
FACEBOOK COMMENTS