काठमाडौं, वैशाख १२ – अस्पतालमा परीक्षण गरिएकामध्ये ९० प्रतिशत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरेको छ।अस्पतालले सूचना जारी गर्दै आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ।
सूचनामा लेखिएको छ, ‘अस्पतालमा कार्यरत कर्मचारी एवम् स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको जानकारी गराउन चाहन्छौँ। वैशाख १२ गतेदेखि १८ गतेसम्म अस्पतालमा इमरजेन्सी बाहेकका सेवा दिन सकिने छैन।’
कोरोनाको दोस्रो लहर शुरू भएसँगै बाँके कोरोनाको हटस्पट नै बनेको छ। यस अघिको कोरोनाको लहरमा पनि बाँके बढी प्रभावित भएको थियो। केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ।कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
FACEBOOK COMMENTS