काठमाडौं, वैशाख १३ – बाँके र बर्दियामा आज सोमबार मध्य रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो ।
संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने छ ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सञ्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।
FACEBOOK COMMENTS