काठमाण्डौँ — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले उन्नत जातको उच्च घनत्व प्रविधिको स्याउ खेतीको परीक्षण सुरु गरेको छ ।
स्याउ रोपेकै वर्षबाट फल्ने उच्च घनत्व प्रविधिका स्याउ खेती गर्नतर्फ लागेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताएका छन् ।
स्वामीकार्तिक खापर गाउँ कार्यपालिकाको निर्णयअनुसार नै हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न सुरु भएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक निरज कट्टेलले बताए ।
स्याउ खेती स्वामीकार्तिक खापर गाउँपालिका–३ जोरुमा रहेको चाखुडेथला प्राथमिक विद्यालयको बाँझो जग्गामा लगाइएको छ ।
गाउँपालिकाले परीक्षणका लागि पहिलोपटक हजार बोट लगाएको उनको भनाइ छ ।
स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउँ र ओखर खेतीको सम्भावना भएको भन्दै उक्त खेती सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
हाल परीक्षणका लागि इटलीमा उत्पादन गरिँदै आएको उन्नत जातको फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको सुरुवात गरिएको हो ।
स्वामीकार्तिक खापर गाउँपालिकाभरि विभिन्न जातका स्याउ फल्ने गरे तापनि यो उन्नत जातको स्याउ भने जिल्लामै पहिलोपटक परीक्षण खेती सुरु गरेको छ ।
— राजधानी
FACEBOOK COMMENTS