काठमाडौं । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब २ अर्ब बराबरको बीमा दाबी परेको छ ।
असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा बीमा दाबी माग भएको हो । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
बाढीका कारण सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यो वर्ष बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ ।
बाढीका कारण भवन, सवारीसाधन, कृषि, जलविद्युत् आयोजना, अन्य परियोजना, निर्माणाधीन आयोजनालगायत क्षेत्रमा भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यसमध्ये बीमा भएका क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी माग भएको समितिको भनाइ छ । बाढीबाट भएको भौतिक क्षतिबापत थप दाबी आउन सक्ने समितिले बताएको छ ।
सम्बद्ध व्यक्ति तथा कम्पनीबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी पेश नभएको पनि हुन सक्छ । साथै, नेपालमा बाढी पहिलो आउने क्रम अझै पनि जारी छ । त्यसअनुसार अझै पनि यस्तो बीमा दाबी पर्न सक्ने समितिको भनाइ छ । यसरी परेको कुल बीमा दाबीमध्ये सबैभन्दा बढी इन्जिनीयरिङ बीमामा परेको छ । इन्जिनीयरिङतर्फ कुल १ अर्ब १२ करोड १४ लाख ७३ हजारको दाबी परेको छ ।
त्यसमध्ये बाढीका कारण क्षति ग्रस्त भएका १०७ ओटा निर्माणाधीन आयोजनाबाट ९० करोड ७ लाख ३४ हजारको बीमा दाबी परेको छ । निर्माण सम्पन्न भएका ८ ओटा आयोजनाबाट ११ करोड ७० लाखको दाबी परेको छ । यसैगरि आयोजनामा प्रयोग गरिने १८ हेवी इक्वीपमेन्टबाट थप ८ करोड ८४ लाख ३६ दाबी परेको छ । समितिका अनुसार इन्जिनीयरिङमा रू। १ करोड ५३ लाख ३ हजार बराबरको अन्य ६ ओटा दाबी परेको छ ।
इन्जिनीयरिङ बीमापछि घर तथा व्यावसायिक भवन अर्थात् सम्पत्ति बीमामा बढी दाबी परेको छ । सम्पत्ति बीमामा ६९ करोड ३६ लाख ४६ हजार बराबरको १४१ ओटा दाबी परेको तथ्यांकमा उल्लेख छ । दाबी पर्ने मामलामा मोटर बीमा तेस्रो स्थानमा रहेको छ । मोटर बीमामा ४ करोड ७५ लाख ८७ हजारको ३३ ओटा दाबी परेको छ ।
पशुपक्षी बीमातर्फ २ करोड ३८ लाख ५९ हजार बराबरको पाँचओटा दाबी परेको छ । कृषि बीमामा भने १ करोड ६२ लाख ५१ हजार बराबरको ६ ओटा दाबी परेको छ । सामुद्रिक बीमामा पनि १९ लाख ८१ हजार बराबरको पाँचओटा दाबी परेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS